पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात् यति निष्ठुरी भइदियो कि उनको भत्केर बचेको सपना पनि चुँडाएर लगिदियो ।
पहाडी बस्तीको कुनामा बेबुलालको सानो फुसको झुपडी छ, त्यो पनि आफ्नै जग्गामा होइन । उमेर छँदासम्म कपडा सिलाउने पेसा गरेर जीवन धानेका उनलाई एक स्थानीयले दया गरेर आफ्नो बारीको छेउमा झुपडी बनाएर बस्न थोरै जग्गा दिए । त्यसमै उनले २०४० सालमा झुपडी बनाए । छोराछोरी बढेपछि छोराले बिहे गरे, दुई नातिनी जन्मे ।
त्यो झुपडीमा सुत्न नपुग्ने भएपछि पुरानो झुपडीसँगै जोडेर अर्को सानो झुपडी बनाएर छोरा पोहोर साल छोरा मजदुरी गर्न प्युठान गए । ‘के पीडा भयो कुन्नि उसले उतै आत्महत्या गरेछ’, पोहोर सालको पीडा सम्झँदै बेबुलालले भन्नुभयो– ‘कमाइ गर्ने छोरा गुमेपछि सबै सहारा बुहारी नै बनेकी थिई, उसले मजदुरी गरेर हामीलाई दुई हात जोड्न सजिलो बनाएकी थिई, त्यही मेरो सहारा पनि दैवले खोसिदियो, अब म के गरूँ?’
पाँच दिनको लगातारको वर्षपछि पहिरो बुहारी बाटुली र उनकी दुई वर्षीया छोरी सुतेको झुपडीमै खस्यो, उनीहरू एैया पनि भन्न नपाएर यो धर्तीबाट बिदा भए । ‘राति खाना खाएर आमाछोरी सुत्न गए, हामी बूढाबूढी पनि सुत्यौं तर तीन बजेतिर केही खसेजस्तो आवाज आयो बाहिर निस्कँदा बुहारी र नातिनीलाई च्यापिसकेछ।’ –वृद्ध बेबुलालले अश्रुधारासँगै त्यो कालो रात सम्झनुभयो ।
अब नहुनु भइसकेको छ, आफूजस्तै अशक्त ६० वर्षीया श्रीमती र छोराबुहारीको नासोको रूपमा बचेकी पाँच वर्षीया जेठी नातिनी एलिसाको भरणपोषण बेबुलालको काँधमा आएको छ । ३७ वर्षदेखि फेर्न नसकेको फुसको झुपडीबाहेक उनीसँग अब सम्पत्ति भन्नु केही छैन, त्यही पनि आफ्नो जग्गाको होइन । यो घटनापछि गाउँपालिकाले यो परिवार बस्ने घर बनाइदिनका लागि चासो देखाए पनि बाँकी उनीहरूको लालनपालन र अनाथ बालिकाको पठनपाठनको जिम्मा कसले लिइदिने हो, अनिश्चित छ ।
‘धन्न एउटी नातिनी बचेकी छ, त्यसको मुख हेरौंला भन्ने आशा त बच्यो’, यति संकटपछि पनि जीवनप्रति थोरै आशा बाँकी रहेको सुनाउने बेबुलालले भन्नुभयो– ‘मागेरै भए पनि नातिनीलाई हुर्काउँछु र पठाउँछु, त्यो छोराबुहारीले छाडेर गएको नासो हो ।’
कहिलेकाही संयोग पनि कस्तो हुन्छ, पाँच वर्षीया एलिसाले दुई दिनअघि मात्रै मामाघर जाने जिद्दी गरिन् । तीजमा जाउँला नि त भन्दा पनि नमानेपछि आमा बाटुलीले बंगलाचुली–३ मा रहेको माइतीघरमा छोरीलाई छाडेर आइन् तर त्यही रात उनी अर्की छोरीसहित पहिरोमा बगिन् । ‘नातिनी बाँच्नु भन्ने लेखेको छ, ऊ जिद्दी गरेर मामाघर गई’, बेबुलाल सम्झनुहुन्छ– ‘नातिनीले नजानुस् मम्मी त भनेकी हो रे, तर हामीलाई पकाई खुवाउन बुहारी हतारिँदै फर्किआई, त्यो रात उतै बस्देको भए आज यो दिन देख्नुपर्ने थिएन कि !