अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाडौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुन: मन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्रीले गरे प्रशंसा
राजीनामा दिनुअघि शुक्रबार नै भएको मन्त्रिपरिषद बैठकमा खतिवडा सहभागी भएका थिए । बैठकमा नै उनले आफूले राजीनामा दिने बताएका थिए । त्यस क्रममा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले पार्टीमा यति ठूलो बहस भइसकेपछि खतिवडाले नै राष्ट्रियसभा सदस्यमा आउने इच्छा व्यक्त नगरेको बताए । ‘यदि उहाँले इच्छा राखेको भए मैले अडान लिन्थेँ’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा रहेर गरेको कामप्रति खतिवडालाई धन्यवाद पनि दिए ।
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो बन्द भएको थियो । अनलाइन खबरबाट साभार

प्रतिकृया दिनुहोस्