आइसोलेसन बेड पुग्दो बनाउन नसक्नु कमजोरी भयो

आइसोलेसन बेड पुग्दो बनाउन नसक्नु कमजोरी भयो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना कहरले प्रदेश १ लाई नराम्ररी सताएको छ । त्यसमा पनि राजधानी विराटनगर निकै प्रभावित छ । प्रदेश १ मा तीन हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमित मध्ये प्रदेश १ भित्रका २३ जना र बाहिरका ९ जनाका गरी ३२ जनाले मृत्यु भएको छ । सरकारी तयारीकै कारण प्रदेशमा भयावह अवस्था नरहेको प्रदेश सरकारको दाबी छ । प्रदेशमा आइसोलेसन बेड अभावको पिरलो उच्च भएका बेला सरकार के गर्दैछ ?  कोरोना कहर छिचोल्न प्रदेशका योजना के छन् ? भन्ने विषयमा मुख्यमन्त्री शेरधन राईसँग पत्रकार राजु अधिकारीले गरेको कुराकानी।

प्रदेश १ कोरोनाबाट प्रभावित बन्दै गएको छ । प्रदेश सरकारले काम गर्न सकेन भनेर आलोचना बढ्दै गएको छ । कोरोना  

नियन्त्रण र उपचारको अवस्थासँग तपाईं  आफैँ सन्तुष्ट हुनुहुन्छ?  

संघीय सरकारले चार महिना लामो लकडाउन अन्त्य भएको घोषणासंगै कोभिड–१९ को संक्रमण ह्वात्तै बढेको छ । कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारमा सम्भव भएसम्म सबै उपाय र प्रयासहरू जारी राखिएको छ । दैनिक जनजीवनलाई पनि केही सहज बनाउँदै, संक्रमित क्षेत्रहरूलाई सील गर्दै, संक्रमितका लागि आवश्यक आइसोलेसन वार्ड र उपचार कक्षहरू थप गर्दै आएको छौं । यसका साथै सीमा क्षेत्रमा कडाई गर्दै, चेतनामुलक अभियानहरू सञ्चालन गर्दै अगाडि बढेका छौँ । अहिलेसम्म ८६ हजारभन्दा बढीको पिसिआर परीक्षण गरिसकिएको छ ।  

यसरी हामी व्यवस्थित योजनाका साथमा काम गर्दै आएका छौं । हाम्रो सुरु देखिको व्यवस्थित पूर्व तयारी र कार्ययोजनाका साथ कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदम, गरिएका प्रयास, प्रयोग र अभ्यासहरूबाट म धेरै हदसम्म सन्तुष्ट छु । केही कम्जोरीहरू भएका छन्, खासगरी भएका निर्णय र योजनाहरू समयमा कार्यान्वयन नहुँदा संक्रमितको व्यवस्थापन र उपचारमा देखिएका केही समस्याले मेरो ध्यानाकर्षण भए लगत्तै प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट आवश्यक निर्णय र योजना बनाई सबैलाई निर्देशन गरिसकिएको छ ।

प्रदेश सरकार सुरुमा आक्रामक तयारीमा थियो तर संक्रमित थपिँदै गएपछि किन सुस्त हुँद गएको हो?

हामी आक्रमक ढंगले सुरुदेखि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा जुट्यौं । हामीले माघ महिनाको २३ गते नै २३ बुद्धे कार्ययोजना पारित गरेको थियौं । मेरो नेतृत्वमा निर्देशक समिति, मन्त्रीहरूको नेतृत्वमा अलग अलग डेडिकेटेड समितिहरू, प्रमुख सचिवको नेतृत्वमा कार्यान्वयन समिति बनाएर हामी जुटयौं । १० दिनमा कोभिड अस्पताल तयार ग¥यौं । चार ठाउँबाट पिसिआर परिक्षण सुरु गरयौं । सीमा क्षेत्रमा कडाई ग¥यौं ।  

आवश्यक क्वारेन्टिन, आइसोलेनसन सेन्टर तथा वार्डहरू, होल्डिंग क्षेत्रहरू तयार गर्यौ । यसरी हाम्रो चौतर्फी प्रसंशा भयो । हामीले पछिल्लो सम्भावित स्थितिलाई समेत आंकलन गरेर त्यसै अनुसार कार्ययोजना बनाएका थियौं । तर, तोकिएको ठाउँ, समय र संख्यामा आइसोलेसन वार्डहरू नबनेका कारण संक्रमण ह्वात्तै बढेको देखिन्छ । संक्रमितलाई आइसोलेसनमा राख्न नसक्दा सरकारको केही आलोचना भएको मात्रै हो ।  

हामीले काम गर्न छाडेको वा कम गरेको  होइन । व्यवस्थित योजनाका साथ अहोरात्र खटिराखेका छौं ।

अहिले पनि पर्याप्त आइसोलेसन बेड छैनन् अस्पतालहरूमा पूर्वाधारको अभावको छ कहाँ चुकियो जस्तो लाग्छ?  

माघ महिनामा पहिलो कार्ययोजना बनाएका थियौं । त्यसपछि पनि स्वास्थ्य र सुरक्षाका योजनाका साथमा पिसिआर परीक्षण योजना समेत बनाएर हामीले काम गर्यौ र थप यतिबेला पनि पिसिआर परिक्षण, थप आइसोलेसन र कोभिड उपचार केन्द्रको स्रोन्नत्तीलगायतका काम भइराखेका छन् । केही दिनमै ‘एक व्यक्ति एक आँगन’ कार्यक्रम लिएर नागरिकको घरघरमा जाने योजना बन्दैछ । प्रदेशलाई कोरोना मुक्त प्रदेश बनाउने योजनाका साथ हामीअघि बढेका छौं । चार महिनासम्म पूर्ण नियन्त्रणमा रहेको कोरोना लकडाउन खुला हुने भएपछि एकैपटक धेरै संख्यामा संक्रमण बढेको हँुदा आइसोलेसनको अभाव भएको हो । त्यसपछि मैले अघि पनि भनेको छु ।  

समयमै पर्याप्त आइसोलन वार्ड बनाउने निर्णय गरे पनि समयमा तोकिएको ठाउँमा आइसोलेसन वार्डहरू नबनेका कारण हामीलाई आलोचना गर्ने ठाउँ रह्यो । यो काममा हामी थोरै चुक्यौं भन्न सकिन्छ । अन्यथा हामी कहीँ चुकेका छैनौं । अहिले त्यसलाई व्यवस्थापन गर्न सबै बाटाहरू खोलेर अर्थात भएका पूर्वाधारको प्रयोग, निजी अस्पताल, होटललगायतलाई समेत प्रयोग गर्ने गरी हामी अघि बढेका छौं । त्यसैगरी बिराटनगर कोभिड अस्पताल र धरान बिपीलाई लक्षण सहितका बिरामीको उपचार गर्ने डेडिकेटेड अस्पतालको रूपमा तोकिएको छ । थप स्तरोन्नत्ति गर्ने काम समेत भइरहेको छ ।

हामीले सुरुमा ५०० बेड बराबरको आइसोलेसन सेन्टर तथा वार्डहरू बनाउने योजना बनायौं र विभिन्न ठाउँमा बने पनि प्रदेशले आफ्नै कोभिड उपचार केन्द्र विराटनगरमा, गोठगाउँमा, धरान बिपीमा, चतरामा, मेची अस्पताललगायतमा बनायो अहिले पनि त्यहाँ सञ्चालनमा छन् तर त्यस निर्णय बमोजिम समयमा तोकिएको संख्यामा आइसोलेसन वार्डहरू तयार हुन नसक्दा, संक्रमण एक्कासी बढ्दाको परिणाम प्रदेश सरकारको आलोचना बढेको हो  

प्रदेशको जिम्मामा रहेको आइसोलेसन बेड निर्माणको काम किन सन्तोषजनक नभएको?  

हामीले सुरुमा ५०० बेड बराबरको आइसोलेसन सेन्टर तथा वार्डहरू बनाउने योजना बनायौं र विभिन्न ठाउँमा बने पनि । प्रदेशले आफ्नै कोभिड उपचार केन्द्र विराटनगरमा, गोठगाउँमा, धरान बिपीमा, चतरामा, मेची अस्पताललगायतमा बनायो अहिले पनि त्यहाँ सञ्चालनमा छन् । अझ हामीले जेठ महिनाको ९ गते नै एक हजार ५० बेड तयार गर्ने निर्णय गरेका थियौं ।  

यो हाम्रो दुरदृष्टिपूर्ण निर्णय थियो । तर त्यस निर्णय बमोजिम समयमा तोकिएको संख्यामा आइसोलेसन वार्डहरू तयार हुन नसक्दा, संक्रमण एक्कासी बढ्दाको परिणाम प्रदेश सरकारको आलोचना बढेको हो । नत्र कोरोनाको सवालमा प्रदेश सरकारलाई प्रश्न गर्ने ठाउँ कतै थिएन । एकदमै चुस्त र व्यवस्थित रूपमा हामीले काम गरेका थियौं ।

विराटनगरका मेयरले सामाजिक सञ्जालमा पिसिआर परीक्षणमा प्रदेशको चाकडी गर्नुपर्नेभन्दै प्रदेश सरकारप्रति आक्रोस व्यक्त गरेको देखियो यो पूर्वाग्रह मात्रै हो वा समन्वय हुन नसकेको?  

यो पूर्वाग्रही कुरा हो । उहाँ प्रदेश सिसिएमसीको सदस्य पनि हो । उहाँ हरेक निर्णय प्रक्रियामा हुनुहुन्छ । प्रदेश सरकारले गर्ने हरेक निर्णय र काममा हामीसँगै हुनुहुन्छ । सायद राजनीतिक आस्थाका र कोही कसैका लागि बोलिदिनु पर्ने बाध्यता रह्यो होला उहाँलाई तर त्यो आक्रोशले उहाँलाई फाइदा होइन घाटा हुन्छ किन भने हामी यहीं छौँ जनताले सबै कुरा प्रत्यक्ष रूपमा हेरिरहेका छन् । फेरि कोरोनामा राजनीति गर्ने पनि होइन, मानव जातिमा आएको महामारी हो । आरोप प्रत्यारोप गरेर एक्लै बहादुरी देखाएर कोभिडलाई तह लगाउन सकिँदैन । सबैले मिलेर तीनै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य गरेर उपयुक्त  कदमहरू चालेर मात्र कोभिडलाई पराजित  गर्न सकिन्छ ।

विपक्षी दल कांग्रेसले प्रदेश सरकार कोरोना नियन्त्रणमा असफल भएको आरोप लगाउँदै आएको छ यसमा के भन्नुहुन्छ?

नेपाली कांग्रेसको त्यो बाध्यता हो । उसको राजनीति हो । उसले धर्म निर्वाहका लागि गरेको आरोप हो । यथार्थमा नेपाली कांग्रेस कोरोना रोकथाम र नियणत्रणमा हामीसंगै छ । सबै दलहरू साथमै छन् । संयन्त्र नै बनेको छ दलहरूको । हामीसँग समन्वय गरेर अनुगमन समेत गरेर सुझावहरू दिनुभएको छ । सरकारले गरिरहेका काम, प्रयास र सबै कदमको खुलेर प्रशंसा गर्नुभएको छ । त्यसैले केही आलोचना गरेर राजनीतिक धर्म निर्वाह गरेको मात्रै हो यथार्थमा त्यस्तो आरोपमा कुनै सत्यता छैन ।

प्रदेशलाई लकडाउन र सीलको अधिकार नहुने, महानगरले लकडाउन गर्दा प्रहरीले सहयोग नगर्ने तर सिडिओको निषेधाज्ञामा ठप्प हुने संघीयताको मर्मअनुसारको व्यवहार भयो यो?  

संघीयताको अभ्यास हामीले गरिरहेका छौं । धेरै कानुनहरू बन्न बाँकी नै छन् त्यसो हुँदा सहज अवस्थामा होस वा असहज यस प्रकारको महामारीको बेला होस् हामी तीनै तहका सरकारहरूले राम्रो समन्वय र सहकार्य गर्दै काम गर्नै पर्छ । सोहीअनुसार नै लकडाउन, सील, निषेधाज्ञा जस्ता कुराहरू हामी सबैबीचको समन्वय, छलफल र परामर्शबाट भइरहेका छन् । सुरुको दिनबाटै स्थानीय प्रशासन सबै सुरक्षा निकायसँग राम्रो समन्वय भएको छ । संघीयता नभएको भए त्यसको मर्म थाहा नभएको भए यस  प्रकारको सहकार्य हुनसक्दैनथ्यो होला ।

कोरोना कहरल प्रदेशका अन्य प्राथमिकताका कामहरू ठप्पै छन् कसरी अघि बढ्नुहुन्छ?  

कोरोनाले सम्पूर्ण क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । यो कोरानाको कहरले लामो समयसम्म सताउने कुरा प्रष्ट छ । त्यसैले अब आवश्यक सावधानी अपनाउँदै कोरोनाका सँगसगै लिएर हिडनु पर्ने अवस्था छ ।  

यो कोभिड लकडाउन, निषेधाज्ञ भाग्ने वा नियन्त्रण हुने रहेनछ भन्ने कुरा अहिलेसम्मको हाम्रो भोगाइले प्रमाणित भएको छ । त्यसैले हामी हाम्रा प्राथमिकता प्राप्त र अन्य सबै कार्यलाई आवश्यक सावधानी अपनाउँदै अगाडी बढाउने तयारी र योजनामा छौं ।  

गत आर्थिक वर्षको बजेट कोभिड–१९ को महामारीकाबीच पनि हामीले उल्लेख्य खर्च गर्यौं । समग्र खर्च प्रगतिमा प्रदेश १ नै अगाडी रह्यो । यसबाट हामी भन्न सक्छौं कुनै बहाना नगरी काम गर्ने हो भने हामी जस्तो सुकै संकट, चुनौतीकाबीच पनि काम गर्न सकिने रहेछ भन्ने कुराको तथ्य प्रष्ट भएको छ । त्यसैले  हामी कोरोनाको बहानामा ठप्प  भएर बस्दैनौं हाम्रा सबै कामहरू अगाडी बढ्छन् । यो अन्तर्वार्ता नागरिक दैनिकबाट लिएको हो ।