गृहको निर्देशन लत्याउँदै प्रजिअ सुर्खेत
सुर्खेत । गृह मन्त्रालयको निर्देशन लत्याउँदै सुर्खेतका प्रमुख जिल्ला अधिकारीले यात्रु बहाक बसमा मापदण्डभन्दा बढी यात्रुहरु चढाउन सिफारिस दिएको खुलेको छ । कोरोना संक्रमण रोक्नका लागि प्रशासन कार्यालय आफैले सुर्खेतमा निषेधाज्ञा जारी गरेका बेला प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतीय सेनामा कार्यरतहरुलाई बाँकेको कोहलपुर प्रवेशका लागि भदौ १४ गतेको सवारी पास दिएका थिए ।
प्रजिअ रेग्ग्मीले हस्ताक्षर गरेको ‘सहजीकरण गरिदिने’ व्यहोराको पत्रमा सवारी चालक संगम विकलाई बा५ख ७०२८ नम्वरको गाडीमा २० जना यात्रुहरुलाई यात्राको अनुमति दिइएको छ । गृहको निर्देशिका अनुसार प्रमुख जिल्ला अधिकारीले १४ सिटे फोर्स बसका लागि सात जनाका लागि मात्रै यात्रा गर्नका लागि अनुमति दिइनुपर्ने थियो ।
प्रजिअले २० जना यात्रु पु¥याउनका लागि सिफारिस दिएको बा५ख ७०२८ नम्वरको बस बुलबुले यातायात प्रालिमा आवद्ध छ । यो प्रालिसँग फोर्स बस मात्रै छ । संयुक्त यातायात सञ्चालक समितिका संयोजक नारायण चपाईले यातायात व्यवसायीहरुलाई सानो (फोर्स) बसमा सात र ठुलो बसमा १४ जना मात्रै यात्रुहरु बोक्न लगाउने प्रशासनले गृहको निर्देशनविपरित सात यात्रु बोक्न मिल्ने बसमा २० जना यात्रु कोचाकोच गरेर पठाएको बताए ।
‘कोरोनाको कारण भन्दै प्रशासन आफैले हामीलाई सीट क्षमता भन्दा आधा यात्रु बोक्न प्रशासनले निर्देशन दिन्छ,’ संयोजक चपाईले भने, ‘प्रशासन भने सात यात्रु बोक्नुपर्ने फोर्स गाडीमा २० जना यात्रु बोक्न अनुमति दिन्छ ।’ उनले सार्वजनिक सवारीमा जोर–विजोर लागू गरेर प्रशासनले थप दुःख दिने गरेको बताए ।
कोरोना संक्रमणपछि सुर्खेतका सबै समिति मिलेर संयुक्त यातायात सञ्चालक समिति गठन गरेका छन् । समितिमा आठ सय गाडी आवद्ध छन् । ति मध्ये साढे पाँच सय जोड नम्वरका छन् भने बाँकी विजोर नम्वरका छन् । संयोजक चपाईले गाडीको सीट क्षमता नहेरेरै प्रशासनले हचुवाको भरमा यात्रु बोक्नका लागि अनुमति दिने गरेको आरोप लगाए ।
‘हामीले रुटपरमिट अनुसार सञ्चालन गरेका सवारीमा अहिलेको मापदण्डभन्दा एक जना मात्रै धेरै यात्रु राख्दा ठाउँठाउँमा प्रहरी जरिवाना काट्ने गर्छ, प्रशासनको चिठ्ठीको भरमा जति पनि यात्रुहरु बोक्दा पनि केही हुँदैन्,’ उनले भने, ‘गृहको निर्देशन पालना गराउने कार्यालयलेनै निर्देशनको उलंघन गर्नु राम्रो होइन् ।’
प्रमुख जिल्ला अधिकारी रेग्मीले ४० सिटे बसका लागि आफुले अनुमति दिएको दावी गरे । उनीहरु भारतीय सेना भएको र संगोलमा जानुपर्ने भएकाले अनुमति दिइएको उनले बताए । ‘गृहले सार्वजनिक सवारीको क्षमता भन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन दिएपनि संगोल वा समुहमा बस्नेको आवश्यकता हेरेर सिफारिस दिन सकिन्छ,’ उनले भने, ‘भारतीय सेनाका जान लागेका २० जनाका लासग ४० सिटे बसको अनुमति दिइएको हो ।’

प्रतिकृया दिनुहोस्