देउवा बिरुद्ध कांग्रेसका असन्तुष्ट नेताहरु एकठाउँमा उभिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयको बिरोध गर्दै असन्तुष्ट नेताहरु एकठाउँमा उभिएका छन् । केन्द्रीय विभागमा धमाधम मनोनयन गरेपछि त्यसको खारेजीका लागि असन्तुष्ट नेताहरु एकसाथ आन्दोलनका कार्यक्रम गर्न सहमत भएका हुन् । महाधिवेशनको मुखमै धमाधम मनोनयन गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले मनोनयन खारेजीको माग गरेका छन् ।
भिन्नभिन्न समुहमा छरिएका देउवाइतर समुहले शनिबार भर्चुअल छलफल गरेर दबाब दिनेदेखि आन्दोलनका कार्यक्रमका विषयमा समेत सहमति जुटाएका छन् । देउवाले विभिन्न विभागमा झण्डै १ हजार जनालाई मनोनित गरेका छन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत नेताहरु सहभागी भएका थिए ।
केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले भर्चुअल बैठकमा प्रतिवेदन पेश गरेका थिए । अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्