आइसोलेसनमा चर्पी नबन्दा कोरोना संक्रमित घरमै
गोरखा–गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको क्वारेन्टिन सहितको आइशोलेसनमा चर्पी अभाव हुँदा शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २० जना शनिवार पनि आइशोलेसन पुग्न सकेनन् । नयाँ थपिएका २२ संक्रमित मध्ये दुई जना होम आइशोलेसनमा बसिसकेका छन् भने अन्य सबै घरमा पहिले जसरी नै छन् ।
गोरखा नगरपालिका भित्रका २०, अजिरकोट गाउँपालिका र शहिदलखन गाउँपालिकाका एक÷एक गरी २२ जनालाई शुक्रवार कोरोना पुष्टि भएको थियो । ‘आइशोलेसनमा बस्नुपर्नेहरुलाई आइतवार सम्म लैजान्छौँ, आइशोलेसनमा यस अघि बसिरहेकाको पिसिआर गरिसकेकाले सँगै राख्न मिलेन’ गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने । नगरपालिका भित्रकै संक्रमितलाई दुई दिन सम्म आइशोलेसन नलैजाँदा समुदायमा त्रास बढेको छ ।
गोरखा अस्पतालले संचालन गरेको आइशोलेसनमा छ वटा चर्पी बनिरहेकाले आइतबार आइशोलेसनमा बस्ने संक्रमितलाई लैजान सकिने अस्पतालका सुचना अधिकारी कृष्ण ढकाल बताउँछन् । ‘संक्रमित थोरै देखिएकाले पहिले शौचालय पुग्ने गरी बनाईएन, अहिले एकैपटक धेरै थपिँदा समस्या भयो, निर्माणको काम अन्तिम चरणमा पुगेको छ’ उनले भने । अहिले आइशोलेसन कक्षमा चार वटा शौचालय मात्रै संक्रमितले प्रयोग गर्ने गरेका छन् । आइशोलेसनमा रहेका एक संक्रमितले पानी, शौचालय, बस्ने, सुत्ने ठाउँ समुहमा प्रयोग गर्नुपर्दा समस्या भएको बताए ।
गोरखा नगरपालिका १४ मा एकै घरको ८ जना होम क्वारेन्टिनमा बस्ने र अन्यलाई आइशोलेसन पठाउने तयारी भएको वडा अध्यक्ष हरि खनालले बताए । आइशोलेसनबाटै राख्ने ठाउँ ब्यवस्थित बन्न बाँकी रहेकाले खबर गरेपछि मात्रै ल्याउनु भनिएको हुँदा शुक्रवार संक्रमण पुष्टि भएकाहरु शनिवार पनि घरमै छन् ।

प्रतिकृया दिनुहोस्