अबको चुनावमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था हुनेछ: मन्त्री भुसाल

काठमाडौ–कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मतदाताको सुचीमा समाबेस देशबाहिर रहेका नेपालीले विदेशबाटै मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन्।
गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए।
उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे । सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताए। उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्ने उल्लेख गरे।
राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैँको नेपाली हुने भएकाले सधैँ नेपाली हुनका लागि गैरआवासीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। पूर्वमन्त्री अनिलकुमार झाले गैरआवासीय नेपाली भनेर फरक व्यवहार गर्न नहुनेमा जोड दिँदै आवासीय र गैरआवासीय बीचको विभेद हटाउनुपर्ने बताए। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्