कांग्रेस महाधिवेशन नजिकिदै, अन्तरिक कलह बढ्दै

काठमाडौ । नेपाली कांग्रेसभित्र महाधिवेशन केन्द्रित विवाद बढ्दै गएको छ। फागुन ७ देखि १० गतेका लागि तय गरिएको महाधिवेशन अनिश्चित भए पनि संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद तीव्र बन्दै गएको हो।
संस्थापन इतर समूहले विधिविधानविपरीत सभापति शेरबहादुर देउवाले विभागसहितका निकायहरूलाई विस्तार गरेर महाधिवेशन कब्जा गर्न लागिपरेको आरोप लगाएको छ। सो समूहले महाधिवेशनको सम्मुखमा विभाग गठन र विस्तार गर्नु विधानविपरीत भएको दाबी गरेको छ। विधान विपरीत क्रियाशील सदस्यता वितरण भइरहेकाले त्यसलाई सच्याउन सभापतिलाई पुनः लिखित आग्रह गर्ने भएको छ। सभापति आफ्नो अडानमा कायमै रहे केन्द्रीय कार्यालयमा धर्ना, अनशनसहितका दबाबमूलक कार्यक्रम गर्ने इतर समूहको तयारी छ। निर्णय सच्याउन सभापतिलाई सातदिने अल्टिमेटमसहित आफ्नो असन्तुष्ट नेता केन्द्रीय कार्यालयमा दर्ता गर्ने, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, सांसद, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरूसँग अन्तक्र्रिया र धर्ना दिने इतर समूहका नेताहरूले जानकारी दिए। त्यतिमा पनि निर्णय सच्याउन सभापति तयार नभए निर्वाचन महामन्त्री शशांक कोइरालाले पार्टीका सबै निकायलाई पत्र लेखेर निर्णय कार्यान्वयन नगर्न आग्रह गर्ने तयारी भएको जनाइएको छ। ‘महामन्त्रीले पार्टीको विभाग गठन, सदस्यता वितरणसहितका विषयमा केन्द्रले कुनै निर्णय नगरेको र त्यसलाई कार्यान्वयन नगर्न आग्रहसहितको पत्र लेख्नुहुनेछ,’ इतर पक्षीय एक नेताले भने। त्यसपछि रिले र आमरण अनशन बस्ने तयारी रहेको उनको भनाइ छ।
संस्थापन पक्षले भने सहमतिका लागि पटकपटक भएको प्रयास असफल भएपछि विभागसहितका निकायलाई विधि र विधानअनुसारै पूर्णता दिएको दाबी गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्