प्रधानमन्त्री ओलीको निर्देशनमा मल नल्याउने ठेकदारलाई मन्त्री भुसालले गरे कारबाही

प्रधानमन्त्री  ओलीको निर्देशनमा  मल नल्याउने  ठेकदारलाई मन्त्री भुसालले गरे कारबाही
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । तोकिएको समयमा मल नल्याएर किसानलाई दुख दिने दुई ठेकदारलाई सरकारले कारबाही गरेको छ। किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालको निर्देशनमा कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीसँगको सम्झौता तोडेर जमानतसमेत जफत गरेको हो । 

५० हजार मेट्रिक टन युरिया मल ल्याउन सम्झौता गरेका सैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले जानकारी दिए। सैलुङ इन्टरप्राइजेज निर्माण क्षेत्रमा विवादित शारदाप्रसाद अधिकारीको कम्पनी हो। अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। अधिकारीले राजनीतिक शक्ति प्रयोग गरी ठेक्का हत्याएको आरोप लागेको थियो।

ती दुई कम्पनीसँग २५–२५ हजार मेट्रिक टन युरिया ल्याउने सम्झौता पुरा नभै सरकार आलोचित बनेपछि सम्झौता तोडेर दुवै कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । सुशासनका लागि युरिया आपूर्तिको ठेक्का लिएकाहरुलाई कारबाही गरेको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए।

मल अभाव हटाउन बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया पैंचो मागेको मन्त्रालयले जनाएको छ। धानबालीका लागि आवश्यक भएका बेला किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको भन्दै सरकार आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मल पैंचो मागेका थिए। आफ्नो आग्रहबमोजिम प्रधानमन्त्री हसिनाले मल पठाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी गराएका थिए।