नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक भदौ २६ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भएको भेटवार्ता पछि बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्षद्वयसँग परामर्श गरेर महासचिव विष्णु पौडेलले पार्टीको साउन १३ मा स्थगित गरिएको स्थायी कमिटिको बैठक भदौ २६ बोलाएका छन् । त्यसअघि अध्यक्षद्वयबीच र सचिवालय बैठकसमेत बस्नेछ । विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो ।
ओली-प्रचण्डबीचको भेटवार्तामा कार्यदलले दिएको सुझावका आधारमा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको छ । स्थायी कमिटी बैठकको मुख्य एजेण्डा कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्ताव र त्यसको कार्यान्वयन मुख्य हुनेछ ।
विवाद उत्ष्कर्षमा पुगेपछि साउन ३० गते अध्यक्षद्वयले महासचिव पौडेल नेतृत्वमा कार्यदल गठन गरेका थिए । विवाद समाधानका लागि सुझाव दिनेगरी गठन गरिएको कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनउपर १८ गतेको सचिवालय बैठकमा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस्