प्रदेश १ सरकारले विराटनगरमा एक हजार बेडको आइसोलेशन केन्द्र बनाउने

प्रदेश १ सरकारले विराटनगरमा एक हजार बेडको आइसोलेशन केन्द्र  बनाउने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन् । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसंग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

बैठकले  प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्युलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड-१९ को चेन ब्रेक गर्ने र कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम् स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्ने सहमति भएको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ्ग, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ ।

भोजपुर नगरपालिका-६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्धारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ ।