उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा चारगुणाभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापकीय समस्यासँगै सुरक्षाको जोखिम बढेको छ । झण्डै आधादशकअघि निर्मित ५० जना अँट्ने एकतले जर्जर भवनमा अहिले २ सय १३ जना कैदीबन्दी राख्नुपर्दा व्यवस्थापन गर्ने समस्या र सुरक्षामा गम्भीर चुनौति आईपरेको कारागार प्रशासनले जनाएको छ ।

०३८ सालमा निर्मित भवन पटक पटकको भूकम्पले क्षतिग्रस्त पारेको छ । ०४५ सालको भूकम्पले नै चिरा पारेको भवनलाई टालटुल गरी काम चलाईराखेकोमा ०७२ अर्को विनाशकारी भूकम्पले जर्जर बनाएको थियो । तर, विकल्प नभएका कारण त्यही जिर्ण भवनलाई वर्षेनी मर्मत संभार गर्दै काम चलाउनु परेको कारागार प्रमुख (जेलर) कुमार खड्का बताउँछन् । खड्काका अनुसार भवनको अभाव टार्न पटकपटक नयाँ भवन बनाउन तालुक निकाय कारागार व्यवस्था विभाग र गृह मन्त्रालयलाई आग्रह गरे पनि अहिलेसम्म बजेट पाउन नसकेपछि जिर्ण भवनमै काम चलाउनु परेको हो ।

भूकम्पको धक्काले जिर्ण भवनमा हाल ९६ बन्दी र १ सय ३ कैदी छन् जसमा ३ बन्दी र ७ कैदी गरी ११ महिला छन् भने उनीहरुसँग आश्रित ४ बालबालिका पनि कारागारमा रहेको जेलर खड्काले बताए । ५० जनाको क्षमतामा २ सय ३ जना राख्नु परेको छ भने ३ जना क्षमताको महिला गृहमा १० महिला र ४ बालबालिका राख्नुपर्दाको व्यवस्थापन गर्न धेरै गाह्रो भएको उनले सुनाए । साँघुरो भवनमा चौबरबढी कैदीबन्दी कोचाकोच गरेर राख्नुपर्दा एकातिर व्यवस्थापकीय समस्या छ भने अर्कातिर उनीहरुमा रोग सर्ने संभावना उत्तिकै छ ।

अहिले कोरोना भाईरसको संक्रमण खतरा उच्च जोखिम भएकाले कैदीबन्दीको चाप आफैमा जोखिमपूर्ण हुने जेलर खड्काले बताए ।