कोरोनाले नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको मृत्यु

कोरोनाले नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी युवराज घलेको कोरोना संक्रमणबाट आइतबार राती मृत्यु भएको हो । परिवारीक स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ५९ वर्षका घलेलाई विगत  ३ वर्षदेखी मधुमेह र ५ वर्षदेखी मुटुरोग सम्बन्धी समस्या थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार घलेको स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौं १८ गते दिउँसो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तर गरेर उपचार सुरु गरिएको थियो । उपचारको क्रममा बिरामीको अवस्थामा सुधार नआएपछि आइतबार राती ८ः३० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । घले नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखी कार्यरत कर्मचारी हुन् । उनी पछिल्लो समयमा उपमहानगरपालिका कार्यालयको जिन्सी शाखामा कार्यरत थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।