उदयपुरका सबै स्थानीयतहमा टेलिकमको फोर–जी सेवा

उदयपुरका सबै स्थानीयतहमा टेलिकमको फोर–जी सेवा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरका सबै स्थानीय तहमा इन्टरनेट र मोवाईलका फोर–जी सेवा सुचारु भएको छ । ०७४ असार १४ गते भएको स्थानीयतहको निर्वाचनपछि छानिएका जनप्रतिनिधि आउँदा कार्यालयमा टु–जी सेवासम्म सञ्चालन नभईरहेको जिल्लामा नेपाल टेलिकमले युद्धस्टरमा प्रविधि जडान गरी पछिल्लो समय ८ वटै स्थानीयतहमा फोर–जी सेवा सुचारु गरेको जनाएको छ ।

                टेलिकम उदयपुरका प्रमुख धमेन्द्र यादवले हालसम्म जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका २५ ठाउँमा टावर (बिटिएस) निर्माण गरेर फोर–जी सेवा सञ्चालनमा ल्याइएको बताए । पछिल्लो पटक बिटिएस निर्माण गरिएको सदरमुकाम त्रियुगा नगरपालिका–१० को रमाईलो डाँडामासमेत सोमबारदेखि फोर–जी सुचारु गरिएको यादवले बताए । उनका अनुसार गाईघाट बजारमा मात्र दर्जन ठाउँमा यसअघि नै फो–रजी सुचारु भईसकेको छ ।

                दुईवर्षअघि त्रियुगा ११ गाईघाटका नगरपालिका परिसर, लोकतान्त्रिक (पिपल) चोक, पुरानो गाईघाट (पिजी) चोक र १२ नं. वडाको शनि मन्दिर चोक गरी एकैचोटी ४ ठाउँमा फोर–जी सेवा सुरु भएको थियो । त्यसपछि १० नं. वडा कार्यालय, बालमन्दिर चोक, बसपार्क, सरकारी कार्यालयहरु हुँदै १६ वटै वडा कार्यालयलाई फोर–जी सेवायुक्त बनाइएको थियो । ३ महिनाअघि नगरपालिकाको सबभन्दा दुर्गम मानिने ५ नं. वडाको दमौटीमा पनि विटिएस निर्माण गरी फोर–जी सुचारु गरिसकेको टेलिकमले त्रियुगा नगरका टाढाका पहाडी वडाहरु १४, १५ र १६ मा भने अघिल्लो वर्षदेखि नै फोर–जी सेवा सुचारु गरिसकेको थियो ।

                अघिल्लो वर्ष सबभन्दा बढी ठाउँमा फोर–जी सेवा सुचारु भएको छ । सरकारले सबै  स्थानीयतहमा अनिवार्य बैंकिङ सेवा र अनलाईनमार्फत कार्यालयको काम कारबाही गर्नुपर्ने निर्देशन दिएसँगै गाउँ तथा नगरपालिकाले फोरजी सेवाको प्रविधि जडान गरेका थिए । जिल्लाका सभन्दा बिकट लिमचुङबुङ र ताप्ली गाउँपालिकामा गतवर्ष नै टावर निर्माण गरेर फोर–जी सेवा सञ्चालनमा ल्याएर इ–सर्भिस सुचारु गर्ने व्यवस्था मिलाइएको यादवले बताए । पहाडी भेगकै रौतामाई र उदयपुरगढी गाउँपालिका तथा कटारी, चौदण्डीगढी र बेलका नगरपालिकामा दुईवर्षअघि नै फोर–जी प्रविधिबाट काम सुचारु भईसकेको उनले बताए ।