दुई स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

दुई स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले दुई स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । रगत, दिसापिसाव तथा खकार परिक्षणबाट पत्ता लाग्ने रोगको पहिचान गरेर निदानका लागि खोटेहाङ गाउँपालिका–७ खोटाङबजार स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो । ल्याव टेष्ट गरेर सामान्य किसिमका स्वास्थ्य समस्या पत्ता लगाउनका लागि समय र पैसा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरिएको १२ लाखमा दुई स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

अन्दाज र अनुमानका भरमा औषधि वितरण गर्नुपर्ने वा ल्याव टेष्टका लागि अन्यत्र जानु पर्ने वाध्यता अन्त्याका लागि गाउँपालिकाले आवश्यक उपकरण र जनशक्ती व्यवस्था गरेर स्वास्थ्य प्रयोगशाला स्थापना गरेको हो । खोटाङबजार र इन्द्रेणीपोखरीमा स्थापना गरिएको स्वास्थ्य प्रयोगशाला बुधबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् । 

कोरोना भाइरसको महामारीका कारण ढिलागरी स्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ । इन्द्रेणीपोखरीमा स्वास्थ्य प्रयोगशाला स्थापनाका लागि स्थानीय भुपराज राईले समेत उपकरण खरिदमा सहयोग गरेको गाउँपालिकाले जनाएको छ । दुई जना ल्याव असिस्टेण्ट नियुक्ती गरेपछि दुई स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको हो ।