घरभित्र पसेको निहुँमा दलित बालिका कुट्ने पक्राउ

मोरङ । मोरङको उर्लाबारीकी एक दलित बालिकालाई एकै परिवारका सदस्य मिलेर कुटपिट गरेका छन् । घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेसँगै घटना बाहिरिएको हो ।
१२ वर्षीय बालिका फूलसरी मग्रातीलाई उर्लाबारी नगरपालिका–४ का छिमेकी श्रेष्ठ परिवारले मिलेर कुटपिट गरेको आरोप लागेको छ । घरभित्र पसेको भन्दै बुवा ६० वर्षीय नन्दलाल श्रेष्ठ, आमा ४७ वर्षीय निर्मला श्रेष्ठ र २३ वर्षीय अमिर श्रेष्ठ मिलेर कुटपिट गरी घाइते बनाएको उजुरी दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा फूलसरीकी भाउजू नाताकी दुर्गाकुमारी रोकाले श्रेष्ठ परिवारविरुद्ध जातीय छुवाछुत ऐनअन्तर्गत कारबाहीका लागि उजुरी दर्ता गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
श्रेष्ठको घरमा सोमबार श्राद्ध रहेको र फूलसरी घरमा पसेको भन्दै परिवारले नै कुटपिट गरेको बताइएको छ । कुटपिटमा संलग्न बुवा र आमा फरार भए पनि छोरा अमिर श्रेष्ठलाई पक्राउ गरेको र फरार व्यक्तिको खोजी कार्य भइरहेको एसपी खड्काले बताए ।

प्रतिकृया दिनुहोस्