भन्सार छलिका मल र सुर्तिसहित २ जना प्रहरी नियन्त्रणमा

भन्सार छलिका मल र सुर्तिसहित २ जना प्रहरी नियन्त्रणमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर प्रहरीले रातको समय पारेर अवैध रासायनिक (युरिया) मल र सुर्ति जिल्ला भित्र्याउँदै गरेको अवस्थामा भेटेर दुईजनासहित नियन्त्रणमा लिएको छ । मंगलबार राति सिराहा र उदयपुरको सीमास्थल कटारी नगरपालिका १ बेलसोतस्थित जंगलमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा ४० बोरा युरिया मल, ५ बोरा सुर्तिसहित दुईजना नियन्त्रणमा परेका हुन् ।

                प्रदेश २–०१–००१–च ०१४८ नंं को बोलेरो भेनमा राखेर मल र सुर्ति भित्र्याउँने काममा सहभागी सिन्धुली जिल्ला दुधौली नगरपालिका ९ का २६ वर्षीय देवचन कुमर र दुधौली नगरपालिका ११ का ३६ वर्षीय अन्जितकुमार खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार कुमर सामान्य भए पनि खड्का मल र सुर्तिको अवैध धन्दा गर्ने कार्यमा यसअघिदेखि नै संलग्न हुँदै आएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

                सिराहाको मिर्चैयाबाट सिद्धिचरण लोकमार्ग भएर अवैध मललगायत सामग्री कटारी भित्रिदै गरेको सुराकीका आधारमा प्रहरी चौकी बेलसोतबाट खटेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बोलेरो चेकजाँचको क्रममा सुर्ति र युरिया मल भेटिए पनि कागजात माग्दा नभएपछि भन्सार छलेर ल्याइएको सामान भन्ने यकिन गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।