बरिष्ठ नेता माधव नेपालको प्रस्ताव स्थगित

बरिष्ठ नेता माधव नेपालको प्रस्ताव स्थगित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ।  नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको खाकासहितको प्रस्तावमा बरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय परेन । त्यस बिषयलाई महाधिबेशनबाट टुंगो लगाउनेगरी स्थगित गरिएको छ । सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरूबाट स्पष्ट खाका नआएकाले त्यसलाई आगामी महाधिवेशनबाट टुंगो लगाउनेगरी अहिलेलाई छलफलको विषय नै नबनाइएको नेकपा उच्च स्रोतले जनाएको छ। ‘निर्वाचित जनप्रतिनिधि, पार्टीका वरिष्ठ नेता, विभागीय प्रमुखलगायत कुन–कुन पदलाई दोहोरो जिम्मेवारी दिने भन्ने खुल्दैन। पार्टीका नेताहरू सांसद, मन्त्रीदेखि गाउँपालिका प्रमुखसम्मको जिम्मेवारीमा छन्। कुन पदलाई कहाँनिर जिम्मेवारीमुक्त गर्ने भन्ने विषयले पार्टीभित्रै असजिलोपन उत्पन्न गराउँछ । त्यसैले उक्त विषय महाधिवेशनमै छलफल गर्नेगरी स्थगित गरिएको स्रोतले बताएको छ।

बुधबार दुई अध्यक्षबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन। प्रस्तावमा यसअघि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई आधार मानेर पार्टी विधि–पद्धतिमा सञ्चालन हुने उल्लेख गरिएको छ। तर व्यक्तिगत जिम्मेवारी हेरफेरबारे केही उल्लेख गरिएको छैन।

नेकपाको अन्तरविरोध समाधानका लागि बनेको सुझाव कार्यदलको प्रतिवेदनप्रति वरिष्ठ नेता माधव नेपालले अधिकांश बुँदा सच्याउन आग्रह गरेका थिए। तर उनको आग्रह सुनुवाइ नहुने संकेत देखापरेको छ। नेपालले एक व्यक्ति एक जिम्मेवारीको विषय, पार्टी बैठकको निर्णय कार्यान्वयनको सवाल र कसका कारणले पार्टीमा विवाद उत्पन्न भएको भन्ने विषय अमूर्त ढंगले सुझाव भनेर राखिएकाले कार्यदलको प्रतिवेदन सच्याउनुपर्ने बताएका थिए ।

तीन दिनयता दुई अध्यक्षबीच भएका छलफलमा वरिष्ठ नेता नेपालले उठाएको विषयमा खासै छलफल भएन। बुधबार स्थायी कमिटी सदस्यहरूलाई शुक्रबार पेस हुने एजेन्डा अध्ययनका लागि पठाउँदा पनि महासचिव पौडेल कार्यदलको सुझावलाई आधार मानिएका विषयहरू उल्लेख छन्।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक शुक्रबार नै अन्त्य गर्ने तयारी भएको छ। बैठकलाई धेरै नलम्ब्याउने उद्देश्यले दुई अध्यक्षले तयार पारेको सहमतिको खाका स्थायी कमिटी सदस्यहरूलाई दुई दिनअघि नै पठाइएको छ। साउन १३ पछि अवरुद्ध स्थायी कमिटी बैठकलाई शुक्रबार नै सिध्याएर अन्य केही विषय भए सचिवालयमा छलफल गर्नेगरी अघि बढ्ने तयारी भएको जनाइएको छ।