सीपीएल उपाधि, ट्रिनबागो नाइट राइडर्सलाई

एजेन्सी । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।
ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो । कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो ।
जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । त्यसअघि ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । जुक्सलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २-२ विकेट लिए ।
ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।
ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस्