क्यानले खेलाडीको तलब पठायो, कुन खेलाडीको तलब कति ?

काठमाडौ । क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो ।
२२ जना खेलाडी र एक टेक्निकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको स्रोतले जनाएको छ । क्यानले यसअघि आईसीसीको मागअनुसार २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यहीअनुसार सेप्टेम्बर १ मा आईसीसीले रकम निकासा गरेको थियो । पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।
यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुले १० हजार बढी तलब पाउनेछन् । क्यानले १० हजार बढाउन गरेको प्रस्ताव आईसीसीले स्वीकार गरेर तलब पठाएको हो ।
कुन ग्रेडका खेलाडीले कति तलब पाउँछन् ?
हरेक ग्रेडका खेलाडीले पाउने तलबमा १० हजार वृद्धि भएपछि अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले प्राप्त गरेका छन् । यस्तै ‘बी’ ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउनेछन् । यसअघि ‘ए’ मा हुनेले ३५ हजार ‘बी’मा हुनेले २५ हजार र ‘सी’ मा हुनेले १५ हजार पाएका थिए । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाउनेछन् । ‘ए’ ग्रेडमा क्याप्टेन ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी छन् । ‘बी’ ग्रेडमा अभिनाश बोहोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, रोहित पौडेल, पवन सराफ, सन्दिप जोरा र सुशन भारी । ‘सी’ ग्रेडमा राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

प्रतिकृया दिनुहोस्