निमित्त कर्मचारीको भरमा रौतहटका पालिका

निमित्त कर्मचारीको भरमा रौतहटका पालिका
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत हुनुपर्नेमा रौतहटका अधिकांश पालिकामा जुनियर कर्मचारी नै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको पाईएको छ ।  रौतहटको चार स्थानीय तहमा प्रशासन शाखाका प्रमुखलाई निमित्त प्रमुख बनाइएको छ भने अन्यमा प्राविधिक तथा स्वास्थ्य र लेखाका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

                रौतहटको गरुडा नगरपालिकामा इन्जिनियर मोहम्मद मुस्ताक आलम, वृन्दावन नगरपालिकामा इन्जिनियर नागेन्द्र यादव, राजदेवी नगरपालिकामा इन्जिनियर सञ्जय पाण्डे निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । इन्जिनियरहरु निमित्त कार्यालय प्रमुख बनेपछि जिल्लाको भौतिक विकासको गुणस्तरमा प्रश्न उठ्न थालेको छ । 

यसै गरी कटहरिया नगरपालिकामा लेखा अधिकृत रामप्रकाश साह, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देरश्वर चौधरी, फतुवाविजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्ता निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । यसै बीच राजपुरमा स्वास्थ्यतर्फको जनस्वास्थ्य अधिकृत रवीन्द्रकुमार झालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । स्वास्थ्यका कर्मचारीहरुले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हाल्न थालेपछि जिल्लाको स्वास्थ्यको काम कसले हेर्ने ? भनेर स्थानीयले प्रश्न उठाएका छन् ।

                यसै गरी बौद्धिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठाकुर, देवाहीगोनाही नगरपालिका राजदेव राम तथा दुर्गाभगवती गाउँपालिका जगतकुमार साह निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

                दुई गाउँपालिका र १६ नगरपालिका गरी जिल्लाका १८ स्थानीय तहमध्ये मौलापुर, गौर, ईशनाथ र माधवनारायण नगरपालिका गरी चार पालिकामा मात्र प्रशासन फाँटका अधिकृत कार्यालय प्रमुख रहेका छन् । जिल्लामा विभिन्न पालिकाको कार्यालय प्रमुखमा स्वास्थ्य, इन्जिनियरिङ तथा स्थानीय तहको अन्य क्षेत्रका कर्मचारीले जिम्मेवारी पाउँदा सम्बन्धित क्षेत्रको कार्य सम्पादन कमजोर हुँदै गएको भनी आलोचना भएको छ ।

                मानव विकास सूचांकमा रौतहट देशकै सबैभन्दा पछाडि परेको जिल्ला हो । मानव विकास सूचांकका मुख्य क्षेत्रहरुमा कार्यरत कर्मचारीलाई सम्बन्धित क्षेत्रमै दक्षतापूर्वक काम गराउनु पर्नेमा अन्य क्षेत्रको जिम्मेवारीमा मन्त्रालयले खटाउँदा जिल्ला झन् पछाडि पर्ने देखिएको नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले बताए ।