अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु

अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । बिहीबार विराटनगरको कोसी अस्पताल ‘सरकारी’ले भर्ना गर्न नमान्दा विराटनगरकी एक गर्भवती महिलाले ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएको छ । चैतयता विराटनगरका अस्पतालमा समयमै उपचार नपाउँदा करिब ६ जना बढीको मृत्यु भइसकेको छ ।

केही दिनअघि मात्रै मोरङका प्रमुख जिल्ला अधिकारीले विराटनगरका निजी तथा सरकारी अस्पतालका प्रमुखलाई बोलाएर कुनै पनि बाहनामा बिरामीले उपचारबाट बञ्चित हुनुहुँदैन भनेका थिए । त्यस्तो उपचार गर्न बाहना बनाइ उपचारबाट बञ्चित भए कारबाही गर्ने बताएका थिए ।

विराटनगर–६ सुकुम्बासी टोलीकी ३० वर्षीया विमला ऋषिदेव गर्भवतीलाई प्रसूतिका लागि कोसीले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो ।

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्यालामजदुरी गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बिहीबार बिहान १ बजेतिर व्यथा लागेपछि कोसीमा प्रसूतिका लागि लगेका थिए । अस्पतालले बेड अभाव भएकाले अन्य अस्पताल लैजान भनेपछि बिरामीलाई घर फर्काए । घर लगेर बच्चा जन्माउनु अघि नै बिहान करिब ४ बजेतिर महिलाको मृत्यु भयो । दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रूपमा कमजोर हँुदा अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले बताए । ‘दुई पटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो,’ उनले भने, ‘व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवती महिलाको मृत्यु भयो ।’    

अर्का स्थानीय अक्षय सहनीका अनुसार शिवुको घर दुहबी–१० भए पनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगरमा बस्दै आएका थिए । मृतकका ९ र ३ वर्षका दुई छोरी छन् भने अढाइ वर्षका छोराको दुई वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो । सहनीले भने, ‘आर्थिक स्थिति कमजोर भएकोले दाहसंस्कार गर्न पैसा नभई शव घरबाट उठ्न नसक्दा नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आर्थिक सहयोग गरे ।’  

‘दुई पटक शल्यक्रियाबाट प्रसूति भइसकेको हँुदा अब गर्न नमिल्ने भन्दै कोसी अस्पताले फर्काउनु ठूलो विडम्बना हो,’ सचेतक केदार कार्कीले भने, ‘मलाई घटना हुनुअघि जानकारी आएन । विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा र अस्पतालले भर्ना लिन नमन्दा दुखद् घटना हुनु नराम्रो कुरा हो , कार्कीले भने ।