विराटनगर र नवलपरासीमा कोरोना संक्रमति मृत्यु

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट विराटनगरकी एक महिलाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको छ ।
विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर–१९ मिलन चोककी ४० वर्षीया महिलाको मृत्यु भएको डाक्टर लक्ष्मीनारायण यादवले बताए । मृतक महिलामा ६ दिनदेखि ज्वरो थियो भने बुधबारदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । महिलामा स्वास्थ्य समस्या बढेपछि बिहीबार दिउँसो सवा १ बजे कोसी अस्पतालको आइसोलेनमा भर्ना भएको डाक्टर यादवले बताए ।
आइसोलेसनमा भर्ना भएसँगै महिलामा समस्या देखिएपछि बेलुका पौने ७ बजे कोभिड १९ उपचार केन्द्रमा थप उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्दागर्दै बेलुका ७ बजेर १० मिनेटमा मृत्यु भएको डाक्टर यादवले बताए ।
उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपनाको समस्या मृतक महिलामा रहेको अस्पतालले जनाएको छ । यससँगै विराटनगर महानगरपालिकामा १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचारत पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका –५ का ५५ बर्षे पुरुषको शुक्रबार मृत्यु भएको हो ।
भदौ १९ गते देखि कोभिड अस्पतालको आइसीयुमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । डा गौतमका अनुसार उनलाई मधुमेह, उच्च रक्तचाप र कलेजोको समस्या थियो । नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्