कर्णालीमा युवामा संक्रमण धेरै

जुम्ला । कर्णाली प्रदेशमा हालसम्म फेला परेका कोरोना संक्रमित मध्ये अधिकांस युवा उमेरका छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमण देखिएका दुई हजार सात सय २५ जना मध्ये ४१ प्रतिशत २१ देखि ३० वर्षभित्रका युवाहरु छन् । यस्तै ३१ देखि ४० वर्षभित्रका २४ प्रतिशत छन् ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीका २१ देखि ४० वर्षभित्रका अधिकांस युवाहरु रोजगारीका लागि भारत अथवा स्वदेशमै पनि विभिन्न ठाउँमा रहने भएकाले यो उमेर समुहमा कोरोना संक्रमण धेरै देखिएको बताए । ‘हालसम्म कर्णालीमा देखिएका कोरोना संक्रमितहरुको उमेरगत तथ्याङ्क निकालेका छौं,’ उनले भने, ‘संक्रमित मध्ये २१ देखि ४० वर्षसम्मका युवाहरुको संख्या ६५ प्रतिशत छ ।’
यस्तै ११ देखि २० वर्षभित्रका १५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ भने ४१ देखि ५० वर्षभित्रका नौ प्रतिशतमा कोरोना संक्रमण छ । कर्णालीमा बालबालिका र जेष्ठ नागरिकमा कोरोना संक्रमण कम देखिएको छ । तथ्याङ्क अनुसार १० वर्षसम्मका ४ प्रतिशत, ५१ देखि ६० वर्षसम्मका ५ प्रतिशत र ६१ वर्ष माथिका २ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म छ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा पहिलो पटक जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको दुल्लु नगरपालिका–७ स्थित क्वारेन्टिनमा रहेकै बेला मृत्यु भएको हो । यस्तै जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनी होमक्वारेन्टिनमा थिए ।
जेठ २२ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय युवकको मृत्यु भयो । क्वारेन्टिनबाट घर फर्केकै बेलुका ति युवकको मृत्यु भएको थियो । असार १ गते सुर्खेतकै सिम्ता गाउँपालिका–८ कि २५ वर्षीया महिलाको मृत्यु भयो । आत्महत्या गरेकी महिलाको पछि स्वाव परीक्षण गर्दा कोरोना फेला परेको थियो । असार आठ गते दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भयो । उनको कर्णाली प्रदेश अस्पताल कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो भने असार ९ गते दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुषको मृत्यु भयो ।

प्रतिकृया दिनुहोस्