कालिज फार्ममा पसेको पोथी चितुवा नियन्त्रणमा

कालिज फार्ममा पसेको पोथी चितुवा नियन्त्रणमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली समुहको कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौलाको नेतृत्वमा आएको पाँच जना विशेषज्ञको टोलीले शुक्रबार राती नियन्त्रणमा लिएको हो । उक्त पोथी चितुवालाई सुरक्षित रूपमा चितवनबाटै आएको टोलीले जिल्ला बाहिर स्थानान्तरण गर्ने डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।  खनालका अनुसार नियन्त्रणमा आएको चितुवालाई कुनै जंगलमा सुरक्षित छोड्ने वा चितवन नै लैजाने भन्ने बारेमा विशेषज्ञ टोलीले नै निर्णय गर्ने छ । टोलीले डाट्रिङ बन्दुकको सहायताले औषधिको प्रयोग गरि सिरिन्ज प्रहार गरी लठ्याएर नियन्त्रणमा लिएको थियो ।

विगतमा जिल्लाभित्र नियन्त्रणमा लिएर आसपासका जंगलमा छोडिएका चितुवाले बाटोमा यात्रा गर्दा समेत आक्रमण गर्ने जोखिम बढेपछि यसपटक जिल्ला बाहिर लैजान समेत टोलीलाई सुझाव दिइएको थियो । करिब ३ बर्ष र ३५ किलो तौल रहेको चितुवाले फार्मभित्र ६८ वटा कालिज खाएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ।