मुख्यमन्त्री शाहीले गरे, कालिकोटमा कोरोना बिशेष अस्पतालको उद्घाटन

मुख्यमन्त्री शाहीले गरे, कालिकोटमा कोरोना बिशेष अस्पतालको उद्घाटन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिकोट। कर्णाली प्रदेशको कालिकोट जिल्लामा  सुविधा सम्पन्न कोरोना विशेष अस्पताल  सञ्चालनमा आएको छ ।  भेन्टीलेटर र आईसीयू सेवा सहितको कोरोना बिशेष अस्पताल संचालनमा आएको हो । कर्णाली प्रदेश सरकारको झण्डै १ करोड ६० लाख रुपैयाँको  लागत तथा विभिन्न दाताहरुको सहयोगमा सुविधा सम्पन्न कोरोना बिशेष अस्पताल  संचालनमा आएको हो ।

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विशेष अस्पतालको औपचारीक रुपमा उद्घाटन गरेर संचालनमा आएको घोषणा गरेका हुन् ।  कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि जिल्लामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन   सदरमुकाम मान्ममा रहेको एकिकृत भवनमा कोरोना बिशेष अस्पताल स्थापना भएको हो ।

 अस्पतालमा एक भेन्टिलेटर सहित ५ वटा आईसीयू सेवा सञ्चालनमा आएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष (आइसीयू) सेवा सञ्चालन गरिएको हो । अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरसको महामारी रोकथाम तथा नागरिकले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेष अस्पताल स्थापना भएको बताए ।

     कार्यक्रममा नेकपाका अध्यक्ष धनजित शाही, नेपाली कांग्रेसका नेता दमन शाही, नेमकिपाका नेता नन्दबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटी लगायतका बक्ताले जिल्लामा कोरोना बिशेष अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ठुलो उपलब्धी भएको प्रतिक्रिया दिए ।

     अस्पताल उद्घाटन कार्यक्रममा डा. बिज्ञान प्रजापतीले ५४ बेडको यस कोरोना बिषेश अस्पतालमा एउटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू, ३ वटा कृतिम अक्सिजन दिने मेसिन सहितको सेवा सञ्चालनमा ल्याइएको बताए । कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितहरु भर्ना गरिएको छ । उक्त अस्पतालमानेपाली कांग्रेसका नेता राजिवबिक्रम शाहाले उपकरण ब्यबस्थापनमा सहयोग गरेका थिए ।