सिन्धुपाल्चोक पहिरोमा ११ को मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा ११ को मृत्यु, २० बेपत्ता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक । गाउँमाथिबाट झरेको पहिराले आइतबार बाह्रविसे नगरपालिका–७ घुम्थाङको तीन बस्तीका ११ को ज्यान लिएको छ । पहिरोमा २० स्थानीय हराइरहेका छन् ।

          प्रहरीका अनुसार पहिरोमा परी  मृत्यु हुनेहरुमा भक्तिमाया श्रेष्ठ, ट्याक्सी शेर्पा, ज्ञानीमाया प्रधान, जुनु बिक, सुकुलाल बिक, सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया श्रेष्ठ, सरस्वती विक र करणबहादुर श्रेष्ठ रहेका छन् । 

          प्रहरीका अनुसार पहिरोमा परी आठ घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य छ । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचारपछि चार घाइते साँझ घर फर्केका छन् । चार घाइतेको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ताको खोजी भइरहेको एसपी अधिकारीले बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोली बेपत्ताको खोजीमा परिचालित छ ।

          प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, डालियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिता श्रेष्ठ, रविना श्रेष्ठ, रेयुशा श्रेष्ठ, पदमकुमारी श्रेष्ठ, रामकुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार बिक, सोनिया बिक, रुपा बिक र शिबबहादुर नेवार छन् । पाहुना आएकी एक महिला र दुई महिने एक बालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

          पहिरोपछि उच्च जोखिममा रहेका भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका एक सय ७८ परिवारले घर छोडेका छन् । उनीहरुलाई नागपुजेकै सुरक्षित महसुस गरिएको फराकिलो चौरमा राखिएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले घुम्थाङ पहिरो ‘असाधरण पहिरो’ भएको प्रतिक्रिया दिएका छन् । गएको असार २४ गतेदेखि सिन्धुपाल्चोकमा लगातार बाढीपहिरोको बिपद् निम्तिरहेको भन्दै उनले दुःख व्यक्त गरे । पहिरोस्थल सापकोटाको निर्वाचन क्षेत्र हो । घुम्थाङसहित सिन्धुपाल्चोकमा पछिल्लो दुई महिनामा बाढीपहिरोका आठ घटनामा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । पहिरोमा अझै ४१ बेपत्ता छन् । ४१ जना घाइते भए ।