धर्मशालामा सुरु गरे, डा. केसीले सत्याग्रह

जुम्ला । डा. गोविन्द केसीले जुम्लाको एक धर्मशालामा १९औँ सत्याग्रह सुरु गरेका छन् । सदरमुकाम खलंगाका सार्वजनिक स्थलमा प्रहरी प्रशासनको उच्च निगरानी भइरहेकोले चन्दननाथ नगरपालिका–६ को रानीचौरमा रहेको बाबिरा मन्दिरको धर्मशालामा डा.केसीको सत्याग्रह सुरु भएको हो ।
पटक पटक सरकारलाई माग संवोधनका लागि अवसर दिएका डा. केसीले १९ औ सत्याग्रह जुम्लामा सुरु गरेका हुन् । डा. केसीले १९ औँ सत्याग्रहमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पर्वाधार र जनशक्ति पर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नु पर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिघ्र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी डढेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग राखेका छन् ।
मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्नु पर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरिनु पर्ने,२०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नु पर्ने माग डा. केसीका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नु पर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नु पर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गरिनु पर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्