वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि, मेयर क्वारन्टिनमा

मोरङ । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यस अघि २ वटा वडाका अध्यक्ष र महानगरपालिकाका कार्यकारी अधिकृतमा पनि कोरोना संक्रमण देखिएको छ ।
विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको सोमबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइतबार पिसिआर परीक्षण गराएका थिए ।
यसअघि विराटनगर–२ र ५ का वडाध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण पुष्टि भइसकेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, महानगरका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीसहित महानगरका केही कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । पराजुली आफ्ना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षित रहनका लागि विराटनगरको जैन भवनमा क्वारेन्टाइनमा बसेका हुन् ।

प्रतिकृया दिनुहोस्