राईको हत्यामा संलग्न अभियुक्त सरदार पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा बनाइएको बाँसको पुलबाट उठेको पैसा बाँडफाँटमा विवाद पछि योजनाबद्ध रुपमा भएको हत्याका मुख्य अभियुक्त बेलबारी –५ का विनय सरदारलाई प्रहरीले सुनसरीको मधुवनबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको संयुक्त टोलीले सरदारलाई घटना भएको १८ दिनपछि पक्राउ गर्न सफल भएको हो । साथीको घरमा लुकेर बसेका सरदारलाई सोमबार राती पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सरदारको नेतृत्वमा गत भदौ १२ गते गरिएको आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । आक्रमणबाट घाइते भएकाहरू उपचारपछि घर फर्किसकेका छन् ।
हत्याको घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का जितेन्द्र चौधरी, दीपेन्द्र चौधरी, वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का विशालकुमार खवास र राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न ग्रामथान–७ का प्रभात चौधरी, अनुज माझी, ग्रामथन– ५ का दिनेश चौधरी, ग्रामथान–४ का ओम धामी, ग्रामथान–२ का कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का दिनेश मास्केलगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।
बेलवारी स्थित लोहन्दा खोलामा स्थानीय राजन चौधरी, मञ्जा माझी लगायतका युवाहरुले लोहन्द्रा खोलामाथि बाँसको भाटा प्रयोग गरेर अस्थायी पुल बनाएका थिए । पुल तरेबापत उनिहरूले एउटा मोटरसाईकलको २५ रुपैयाँ लिने गर्दथ्ये । बाँसको अस्थायी पुलबाट दैनिक सैयौं सर्वसाधारणले खोला वारपार गर्थे । त्यहि पुलमा उठाउने गरिएको पैसा कसेनीकै दिनेश श्रेष्ठ लगायतका युवाहरुले पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनु पर्नेभन्दै विवाद गरेपछि झडप भएको थियो ।

प्रतिकृया दिनुहोस्