बलात्कारको झुठा आरोप लगाउने युवतीलाई कैद र जरिवाना गर्ने फैसला

बलात्कारको झुठा आरोप लगाउने युवतीलाई कैद र जरिवाना गर्ने फैसला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । तत्कालिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुर्खेत शाखाका प्रमुख रामप्रसाद गुप्ताले आफुलाई बलात्कार गरेको झुठो आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र एक हजार पाँचसय रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले भदौ १४ गते गरेको फैसलामा जर्बजस्ती करणीजस्तो गम्भीर आरोप लगाएर युवतीले व्यक्तिको चरित्रहत्या गरेको उल्लेख छ । आदलतका श्रेस्तेदार यमप्रसाद बास्कोटाका अनुसार पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार कैद र जरिवानाको फैसला गरिएको हो ।

                बलात्कार आरोप लगाउने युवती सुर्खेत बराहताल गाउँपालिकाकी हुन् । अदालतले कैद सजाय र जरिवाना तोकिएकी युवती अहिले फरार छिन् । फैसला भएदेखि पीडित भनिएकी युवती सम्पर्कमा नआएका कैद भुक्तान तथा जरिवाना असुल गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरिएको श्रेस्तेदार बास्कोटाले जानकारी दिए

                साल्ट ट्रेडिङका प्रमुख गुप्ताले आफुलाई कार्यालयमै बोलाएर २०७६ साल असोज २८ र ३० गते दुईपटक बलात्कार गरेको भन्दै मंसिरमा युवतीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएकी थिइन् । युवतीले आफुलाई जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको जाहेरीमा उल्लेख थियो । उनले सोही व्यवहोराको वकपत्र अदालतमा गरेकी थिइन् । तर उक्त आरोप झुठा सावित भएको थियो ।