वीपीमा सप्तरीका कोरोना संक्रमित युवाको मृत्यु

वीपीमा सप्तरीका कोरोना संक्रमित युवाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान  । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा बुधबार नसप्तरीका एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ ।

मृतक युवा प्रदेश नं २ सप्तरीस्थित खडक नगरपालिका– ३ का ३५ बर्षीय हुन् । उनको बुधबार बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि मृतकलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरेको थियो । उनी भदौ ३० गते बिहान वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

मृतकलाई भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मृगौलाको समस्या थियो भने विगत १ बर्षदेखि हप्ताको २ पटक डाइलाइसिस हुने गरेको प्रतिष्ठानले जनाएको छ । साथै, मृतकलाई उच्च रक्तचापको पनि समस्या भएको प्रतिष्ठानको भनाई छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितहरुको कुल संख्या २८ पुगेको छ ।

त्यस्तै धरानमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार साँझ आएको रिपोर्ट अनुसार ती मध्ये ६ जना प्रहरी र ७ जना नेपाली सेना छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार इलाका प्रहरी कार्यालयमा कार्यरत ४ जना र वडा प्रहरी कार्यालयका २ जना प्रहरीलाई कोरोना पोजेटिभ देखिएको छ । उनीहरु ३ महिला प्रहरी र ३ जना पुरुष प्रहरी छन् । यस्तै, धरान १३, फुस्रेस्थित आर्मी क्याम्पका ७ जना सेनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरु सबै पुरुष हुन् ।