आज असोज १ गतेदेखि लामो दुरीको सवारी चले, काठमाडौंका बजार समेत खुले

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुको अनुसार सरकारले खुल्ला गरेपछि आज असोज १ गतेबाट लामो दुरीका सार्वजनिक सवारी चलेका छन् । बुधबार भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भएको सहमति अनुसार यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड अप्नाएर लामो दुरीका यातायात सञ्चालनमा ल्याएको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए ।
सवारी चालक, सहचालक, परिचालक र बुकिङ कर्मचारीले अनिबार्य रुपमा माक्स, स्यानिटाइजर, फेस भाइजर र पन्जा प्रयोग गर्ने र भौतिक दुरी कायम गरी यात्रुलाई सेवा दिन थालेको हो । लामो र छोटो दुरीको गाडीमा ५० प्रतिसत मात्रै यात्रु चढाउने र साबिकको भाडामा ५० प्रतिसत बढी भाडा उठाउने यातायातको बुकिङ समेत खुल्ला गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त छ ।
आज बिहिबार विहान विश्वकर्मा पूजा गरेका छन् । सवारीधनी र मजदुरको लागि विशेष दिन भएकाले यस्तो अवसरमा पुजा गरेर सेवा थाल्न पाएकोमा मजदुर र ब्यबसायीले खुसी ब्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पनि अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा आजदेखि सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको निश्चित बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था पनि हटेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै रहेको छ । त्यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा लगाइएको बन्देज कायमै छ ।
त्यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेकका अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्