जातीय भेदभाव गरि घर चोख्याउनेलाई कैद सजाय

जातीय भेदभाव गरि घर चोख्याउनेलाई कैद सजाय
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही । गुल्मी जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्धामा ३ महिना जेल सजाय सहित क्षतीपूर्ती र जरिवानाको फैसला गरेको छ ।  जातीय भेदभावको मुद्धामा कैद सजाय नै निकै कम हुने गरेकोमा जरिवाना र क्षतीपूर्ती समेत भराउने यो नेपालमै दुर्लभ फैसलाका रुपमा न्याय क्षेत्रमा हेरिएको छ । गत जेठ २३ गते कालिगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरले स्थानीय श्याम बहादुर नेपाली परियारलाई घरभित्र पसेको भन्दै जातीय भेदभाव गरेका थिए ।

पिडित नेपालीले जेठ ३० गते आफूमाथि जातीय छुवाछुत भएकाले काउछा विरुद्ध गुल्मी जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । न्यायधिन राधाकृष्ण उप्रेतीको एकल इजलाशले जातीय विभेद गर्ने नेत्रबहादुर काउछालाई ३ महिना कैद, ५० हजार जरिवाना र १० हजार क्षतीपूर्तीको फैसला गरेको हो । फैसला भने साउन २९ गते भएको गुल्मी जिल्ला अदालतका श्रेष्तेदार एंव सूचना अधिकारी भीम प्रसाद भुसालले जानकारी दिए ।

 मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला ओत लाग्न भन्दै परियारलाई घरभित्र पसेको आरोप लगाउँदै घर चोख्याएर १५ सय रुपैयाँ जरिवाना तिराएका थिए ।  मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै ब्राहमण बोलाएर घर चोख्याएपछि घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि दलित अधिकारकर्मीहरुको पहलमा अदालतमा मुद्धा दर्ता गरिएको थियो । थुनछेक बहसमा भने काउछालाई ६० हजार धरौटीमा छाडिएको थियो ।

जातीय विभेदको घटनामा न्यायलयले कैद, जरिवाना र क्षतीपूर्ती भराउनेसम्मको फैसला गरेकाले न्यायको अनूभुती भएको दलित अधिकारकर्मी गणेश विश्वकर्माले बताए । उनले दलित समुदायमाथि पाइलै पिच्छे यस्ता विभेदका घटना हुने गरेकाले यो फैसलाले सन्देशका रुपमा जाने बताए । यो फैसलाले जातीय आधारमा भेदभाव भए कानुन अनुसार कारवाही हुने विश्वास पलाएको विश्वकर्माको भनाई छ ।