किशोरी बलात्कारमा संलग्न ब्यक्ति र ढाकछोप गर्ने पञ्च पक्राउ
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरीको बलात्कारमा संलग्नमध्ये दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका १९ वर्षीय बब्लु भन्ने सुमनकुमार मण्डल र रन्जित भन्ने सरोजकुमार मण्डललाई शुक्रबार बिहान सीमावर्ती गाउँबाट पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार किशोरीलाई बलात्कार गरी फरार उनीहरु भारतको सीमावर्ती गाउँमा लुकिछिपी बस्दै आएका थिए । भारतीय क्षेत्रमा खोजतलास तिव्र पारिएपछि वारी प्रवेश गर्ने बित्तिकै पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए । किशोरी बलात्कारको मुख्य कसुरदार उनीहरु दुई जना नै भएको अहिलेसम्मको अनुसन्धानले खुलेको छ । गत सोमबार खेतमा जमेको पानी बगाउन गएकी १७ वर्षीया किशोरीलाई चार जनाले पछाडीबाट समातेर धान खेतमा बलात्कार गरेका थिए । घटनाबारे प्रहरीमा उजुरी नगर्न फरमान जारी गर्दै पञ्चहरूले किशोरी र उनकी आमालाई पञ्चायतीमा धम्क्याएपछि उनले सोही राती झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
प्रहरीले बलात्कार घटनालाई पञ्चायती गरेर लुकाउन खोज्ने डाक्नेश्वारी–७ का ६५ वर्षीय जयकान्त मण्डल, ५० वर्षीय सत्यनारायण मण्डल र ६० वर्षीय वासुदेव मण्डललाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ । पञ्चायतीमा संलग्न अन्य पञ्चहरु फरार छन् ।

प्रतिकृया दिनुहोस्