मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णताको एजेण्डा छलफल

मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णताको एजेण्डा छलफल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताको पूर्णतासम्मका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिमण्डलमा हेरफेरका विषयमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यसँग सुझाव माग्ने छन् । त्यस्तै पार्टी एकताका बाँकी कामको टुंगो लगाउने विषयमा पनि आज छलफल हुने थापाको भनाइ छ ।

दुई दिनअघि बोलाइएको बैठक प्रधानमन्त्री ओलीको व्यवस्थताका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न थालेपछि पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको छ ।

यसअघि केही बैठक धुम्बारीमा रहेको केन्द्रीय कार्यालय र बाँकी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका थिए । ओली र प्रचण्डबीचको सहमतिकै आधारमा पेरिसडाँडामा बैठक बोलाइएको हो । पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयको माथिललो तलामा भौतिक दूरी कायम गरेर बैठकस्थल बनाइएको छ ।

स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिमण्डल पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषय नै आजको बैठकको मुख्य एजेण्डा भएको एक सचिवालय सदस्यले जानकारी दिए ।