खुम्बु–पासाङल्हामु गाउँपालिकाको विद्रोह, गाउँ आउनेलाई अनिबार्य पिसिआर नेगेटिभ रिपोर्ट

काठमाडौं । स्थल र हवाई यात्रामा संघीय सरकारले कमजोर मापदण्ड बनाएपछि स्थानीय तहहरुले त्यसलाई काट्ने गरी निर्णयहरु गर्न थालेका छन् । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले केन्द्रको निर्णय नमान्नेगरी अर्को निर्णय गर्दै पीसीआर रिपोर्ट नेगेटिभ नभई स्थल वा हवाई मार्गबाट गाउँपालिका प्रवेश गर्न नदिने बताएको छ ।
अहिलेसम्म यो गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन । गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पा आफ्नो गाउँपालिका ‘ग्रिन जोन’मा रहेकाले सरकारको निर्णयअनुसार स्थल तथा हवाई यातायात सञ्चालन गर्न नसकिने बताउँछिन् ।
‘हामी सगरमाथा क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वलाई नै दिन चाहन्छौं,’ उनले भनिन्, ‘हाम्रो गाउँपालिकाबाट अर्को गाउँपालिका जान नपर्ने भएकाले हामी नाकामा कडाइ गर्नासाथ अलग हुन्छौं, हामी लुक्लालाई सुरक्षित गन्तब्यका रुपमा राख्न चाहन्छौं ।’
उनले विदेशी वा स्थानीय जो आए पनि पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको जानकारी दिइन् ।
‘सरकारले विमानभरि यात्रु राखेर चलाउने निर्णय गरेको रहेछ, हामीले सबैको पीसीआर नेगेटिभ हुनुपर्छ भनेकाले अब जोखिम हुँदैन,’ उनी भन्छिन्, ‘नत्र त सुरक्षित रहेको हाम्रो क्षेत्रमा पनि संक्रमण देखिन्छ ।’

प्रतिकृया दिनुहोस्