वीपीको कोभिड अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको निधन भएको छ ।
निधन हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका संक्रमित छन् । दुवै जना महिला भएको प्रतिष्ठानले जानकारी दिएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा निधन हुने संक्रमितहरुको संख्या ३० पुगेको छ ।प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो आइतबार राती ९ बजेर २० मिनेटमा निधन भएको हो ।
श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, न्युमोनियालगायत भएपछि उनलाई कन्काई अस्पताल झापाले वीपीमा रिफर गरेको थियो । उनलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन वीपीको कोभिड अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।
यसैगरि, इनरुवा ४ सुनसरीकी ४९ बर्षीया महिलाको पनि वीपीमा निधन भएको छ । प्रतिष्ठानका अनुसार उनको आज बिहान २ बजे निधन भएको हो । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि ती महिला प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएकी थिइन् । उनलाई मेडिसिन वार्डबाट भदौ ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवैको शव नियमअनुसार व्यवस्थापन गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्