किर्तिमानधारी हिम चितुवा आङरिता शेर्पाको निधन

किर्तिमानधारी  हिम चितुवा आङरिता शेर्पाको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ‘हिम चितुवा’को उपनामले विश्वभर प्रख्यात आङरिता शेर्पा ७२ वर्षको उमेरमा सोमबार संसारबाट विदा भएका छन् । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।

 सोलुखुम्बुको थामे गाउँमा जन्मिएका आङरिता शेर्पाले पर्वतारोहणलाई कहिले पनि व्यवसाय बनाएनन्, ।  बरु यसलाई परम्परा र सम्मानका रुपमा लिए  र संसार नाम चिनाउन सफल भए ।

हिमाललाई सम्मान र आदर गरे । हिमालले पनि उनलाई प्रख्याती दियो । बिना अक्सिजन १० पटक सगरमाथाको शिखरमा उभिन पुगे । यो नेपाल र नेपालीको लागि सधै कोशेढुंगा बनेको छ ।

सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वेच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक-पटक आरोहण गरेका छन् ।

      सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

      आरोहणका क्रममै आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

      बिनाअक्सिजन दस पटक आरोहणको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

     उमेरहद्काे करण पर्बताराेहण संघको फिल्ड डाइरेक्टरबाट अवकाश पाएका शेर्पालाई संघले नियमित सहयोग गर्दै आएको थियो। पर्वतारोहण संघले बार्षिक एक लाख रुपैया सहयोग दिँदै आएको थियो । आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेसामै छन् । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा र कान्छा छोरा फुरानुरु खुम्बुमै चौंरीपालन गरेर बसेका छन् । छोरी डोमा जोरपाटीमा बस्दै आएकी छिन् । आङरिता उनै छोरीसँग बस्दै आएका थिए । सात वर्षअघि उनको पत्नीको निधन भएको थियो ।

सन् १९४८ मा जन्मिएका उनले पहिलो सगरमाथा आरोहण १९८३ मा गरे । १९९६ मा १० औं आरोहण पनि बिना अक्सिजन नै गरे ।

   आङरिताको अवसानसँगै पर्वतारोहण क्षेत्रमा एउटा चम्किलो तारा निभेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कीर्तिमान सदा स्मरणीय रहने उल्लेख गदै ट्वीट गरेका छन्– ‘हिम चितुवाप्रति हार्दिक श्रद्धाञ्जली ।’

पर्यटनमन्त्री योगेश भट्टराईले पनि ट्वीटमा लेखेका छन्– ‘बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने विश्वविख्यात आरोही हिम चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा भएको निधनप्रति दुख व्यक्त गर्दै उहाँमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

      नेपाल पर्बतारोहण संघले एक शोक बक्तब्य प्रकाशित गरी शेर्पाको निधनले अतुलनीय क्षति पुगेको जनाएको छ । संघका अध्यक्ष सन्तबीर लामाले जारी गरेको शोक बक्तब्यमा शेर्पाको निधनले पर्बतारोहण क्षेत्रको धरोहर गुमेको उल्लेख छ ।