कोरोनाको नाममा सर्दै कांग्रेस महाधिवेशन, नयाँ मिति तोक्न केन्द्रीय समिति बैठक बोलाइयो

काठमाडौ । संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन उक्त समयमा नहुने निश्चित भएको छ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालीका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।
विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। विधानको अतिरिक्त सुविधा प्रयोग गरेर पनि पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेपछि अब कांग्रेसले संबैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ। त्यस अनुसार उसले अर्को भदौसम्ममा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिकासहितको नयाँ मिति ल्याउन सक्नेछ।
विधानको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। उक्त बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनीक गरेपनि आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण पटकपटक प्रभावित हुँदै आएको छ। जसले गर्दा गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम एक महिना अघि सक्नुपर्ने कांग्रेसले अहिलेसम्म कतिपय जिल्ला फारमसम्म पठाएको छैन भने सदस्यता छानविनका लागि अहिलेसम्म समितिसमेत गठन गर्न सकेको छैन।

प्रतिकृया दिनुहोस्