रैथाने युवाहरुको सम्पदा जोगाऔ महाअभियान सुरु

रैथाने युवाहरुको सम्पदा जोगाऔ महाअभियान सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । युवाहरुको एक समूह काठमाडौंका ऐतिहासिक सम्पदाहरु जोगाउने महाअभियानमा जुटेका छन् । सम्पदा जोगाऔं महाअभियान नाम राखी उनीहरु सम्पदा जोगाउन लागिपरेका हुन् । त्यसको नेतृत्व काठमाडौका रैथाने यादवलाल कायस्थले गरिरहेका छन् ।

महाअभियानका संयोजक कायस्थ सामाजिक सञ्जाल फेसबुकको प्रयोयबाट  सहयोगी हातहरुको सहयोगमा सम्पदा जोगाउने महाअभियानमा लागिपरेको बताउँछन् । हाम्रो कुनै निश्चित समूह छैन । सामाजिक सञ्जाल फेसबुकबाट जो–जो हामीसँग जोडिन आउँछन्  । ती सबै हाम्रो समूह हो ।  त्यसैले संयोजक बाहेक अरु कुनै पदाधिकारी नबनाएको कायस्थले बताए ।

                महाअभियानका संयोजक कायस्थ घरबाट विद्यालयसम्म हिँड्दै जाँदा बाटोमा धेरै सार्बजनिक धारा देख्थे । त्यस बेलासम्म प्रायः सार्वजनिक धाराहरुमा पानी बगिरहन्थ्यो । मनमोहक लाग्यो उनलाई त्यो दृश्य । साथै घरबाहिर निस्कने बित्तिकै देखिने सम्पदाले उनलाई यस क्षेत्रको संरक्षणका लागि प्रेरणा दियो ।

विशेष गरी ती युवाहरु सार्वजनिक पाटी, ढुंगेधारा, इनारलगायतका पानीको प्राकृतिक स्रोत संरक्षण र उत्खननमा लागिरहेका छन् । सरकारले मेलम्ची ल्याउँछु भनेर भनेर वर्षौँ बिताएको तर त्यति नै समय हिटी (ढुंगेधारा) संरक्षणमा लगाएको भए अहिलेको जस्तो पानीको हाहाकार नहुने मत उनीहरुको छ ।

हिजोआज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं १० को ऐतिहासिक सार्वजनिक पाटी अनि सूर्यविनायक नगरपालिका वडा नं ९ बाचामारीस्थित ऐतिहासिक ढुंगेधाराको उत्खनन्मा भेटिएका उनीहरुले यस्तो सम्पदाहरुको पुननिर्माण गर्न सके वास्तविक काठमाडौं उपत्यकाको पहिचान झल्किने बताउँछन् । यहाँ बिकासका नाममा यस्ता ऐतिहासिक सम्पदाहरु धमाधम नष्ट गरिरहेका छन्, उनीहरुको एउटै आवाज थियो, यसले एकातिर काठमाडौं उपत्यकाका पहिचानलाई नष्ट गर्दै आएको छ भने अर्काेतिर विविध समस्या पैदा गर्दै आएको छ ।

उनीहरुको यो समूहले काठमाडौ, ललितपुर, भक्तपुरलगायतका दर्जनौं सार्वजनिक पाटी, ढुंगेधारा, इनार, मठमन्दिरलाई जोगाउने काम गरिरहेका छन् । उनीहरुको समूहले पहिलो पटक  ललितपुरको लगनखेलबाट सातदोबाटो जाने बाटोको बायाँ भागतिर बटुक भैरवको मन्दिर जिर्णाेद्धार थालेका थिए । बाटो विस्तारको क्रममा मन्दिरको क्षेत्रलाई समेत भत्काउने तयारी गरिएकोमा उनको समूहको प्रयासले त्यो जोगिएको थियो । यहीबाट थालनी भएको उनीहरुको अभियानलाई कोरोनाले पनि रोक्न सकेको छैन । कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउन र हालको निषेधाज्ञामा पनि उनीहरु सम्पदा संरक्षणमा लागिरहेका छन् । उनीहरुलाई साथ दिइरहेका छन् सम्पदाको महत्व बुझेका युवायुवतीले ।