सामाजिक सुरक्षाभत्ता दुरुपयोगबाट जोगाउन गाउँपालिकाको जुक्ती

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्तामा भइरहेका अनियमितता रोक्नका लागि अभियान थालेको छ । वडा–वडामा मृत्यु भइसकेका, बसाई सरिसकेका वा अन्य व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले अनियमितता रोक्न अभियान थालेको हो ।
नक्कली कागजात खडा गरेर सामाजिक सुरक्षा भत्तामा भइरहेको अनियमितता रोक्नका लागि कडाईका साथ अभियान थालिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए । मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोराएर, एउटै नागरिकता नम्बर देखाएर, एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भइरहेको पाइएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । ‘नक्कली व्यक्ति’को नाममा पनि सामाजिक सुरक्षाभत्ता भुक्तानी हुँदैआएको पाइएपछि दावी बिरोधका लागि असोज ५ गते नामावली सहित १५ दिने सूचना जारी गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए ।
दावी बिरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३५५ जना, साकेला गाउँपालिका–२ रतन्छाका २९८ जना, साकेला गाउँपालिका–३ खिदिमाका १२७ जना, साकेला गाउँपालिका–४ मात्तिमका २५९ जना र साकेला गाउँपालिका–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको छ । प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गर्नु अगाडि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावलीलाई निक्र्यौल गर्ने अध्यक्ष खड्काले बताए ।

प्रतिकृया दिनुहोस्