प्रदेश अस्पतालले लक्षण देखिएकाबाहेकको पिसीआर परीक्षण नगर्ने

प्रदेश अस्पतालले लक्षण देखिएकाबाहेकको पिसीआर परीक्षण नगर्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले कोरोनाको लक्षण देखिएकाको मात्रै पिसीआर परिक्षण गर्ने भएको छ । प्रदेशस्तरीय एक मात्र सरकारी अस्पतालले अबदेखि लक्षण नदेखिएकाको पिसीआर परिक्षण नगर्ने भएको हो ।

                स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सर्कुलर अनुसार नै आफूहरुले कोरोनाको लक्षण नदेखिएकाको पिसीआर परिक्षण नगर्ने निर्णय गरेको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । पिसीआर परिक्षणका लागि बहिरङ्ग विभाग र फिभर क्लिनिकमा खटिएका चिकित्सकले जाँच गर्दा कोरोनाको लक्षण देखिएको पाइएमा मात्र अस्पतालको प्रयोगशालामा पिसीआर जाँच गरिने बताए ।

                अस्पतालले लक्षण नभएकाको पिसीआर परिक्षण नभएपनि अन्य ठाउँबाट हुने भएकाले त्यहाँ सम्पर्क गर्न नागरिकमा अनुरोध गरेको छ । अस्पतालले कन्ट्याक ट्रेसिङमा परेका, लक्षण नभएपनि होम आइसोलेसनमा बसेका, ट्राभल हिस्ट्री भएकाहरुले पिसीआर जाँचका लागि आफ्नो बसोबास रहेको पालिका तथा वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । साथै स्वेच्छाले पिसीआर परिक्षण गर्न चाहेमा अस्पतालको फिभर क्लिनिकमा सम्पर्क गर्नसमेत अस्पतालले आम नागरिकमा आग्रह गरेको छ ।