किशोरीलाई भारत लैजान खोज्ने पक्राउ

किशोरीलाई भारत लैजान खोज्ने पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जना पक्राउ परेका छन् । विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

                पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका छन् ।  घटनाको प्रकृति हेर्दा किशोरीलाई बिक्रि गर्न वा बलि दिन भारत लैजान खोजिएको हुन सक्ने प्रहरीको आशंका छ ।  सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो । सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो ।

                मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका मुख्य योजनाकार सुमित र प्रदीप उनका सहयोगी रहेको खुलेको छ । सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्याउन खोजेको खड्काले बताए ।