कोशी पीडितद्धारा सरकारलाई माग पुरा गर्न दबाब

कोशी पीडितद्धारा सरकारलाई माग पुरा गर्न दबाब
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । कोशी बाढी पीडितले आफ्ना समस्या समाधान गर्नका लागि ११ सुत्रीय माग राखेका छन् । कोशी बाढी पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पुरा गर्न दबाब दिएका हुन् ।

बाढी पीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलका अनुसार २०६५ सालमा कोशी नदी मानव वस्तीमा प्रवेश गरेपछि विस्थापित हुँदा पनि पीडितले पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म पूर्ण रुपमा नदिएकाले तत्काल दिनुपर्ने माग राखेर सरकारलाई दबाब दिइएको हो । कोशी पीडितले २ हजार एक सय विगाहा जग्गा, एक हजार ८ सय विगहा जग्गाको बालीको क्षतीपूर्ति, ३ हजार ३ सय ७० पीडित परिवार मध्ये १८ सय पीडित परिवारले पाउनुपर्ने घर फिर्ता वापतको ५५ हजार ७ सय क्यूफिट सखुवाको काठ, ५ सय ५० सुकुम्बासी परिवारको जग्गा खरिद गर्नुपर्ने लगायतका माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका सदस्य भुवनेश्वर यादवले बताए । कोशी पीडितका माग पुरा नभए चरणबद्द आन्दोलनमा उत्रिने मण्डलले बताए ।

सरकारले वाढी पीडितलाई ‘प्याकेजमा’ एक अर्ब ६० करोड रुपैयाँ क्षतीपुर्ति दिने निर्णय गरेको थियो । प्याकेज राहत रकममध्ये अझै थुप्रै रकम पाउन बाँकी रहेको पीडितले बताएका छन् । २०६५ भदौ–२ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर अहिलेको कोशी गाउँपालिका क्षेत्रमा पर्ने साविकको हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाबिस डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए ।

सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो । कोसी नदीले तत्कालिन समयमा पूर्वी तटबन्ध भत्काउँदा लौकही भाण्टाबारी क्षेत्रको करिब १४ किलोमिटर खण्ड ठाँउ ठाँउमा भत्काएको थियो । तत्कालिन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पुरै टुटेको थियो ।