कांग्रेसमा बिबाद चर्कदै देउवा पौडेल र सिटौला समुह सक्रिय

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीचको बिबाद चर्कदै गएको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने तयारी गरेको छ। तर तेस्रोधारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला पक्षले भने दुबै पक्षलाई सहयोग नगर्ने संकेत गरेको छ ।
नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहको शनिबार बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएको निर्णय असोज १९ गतेभित्र सच्याउन देउवालाई अल्टिमेट दिने निष्कर्ष निकालेको छ। त्यतिबेलासम्म पनि सभापतिले यसअघिका निर्णय नसच्याए धर्ना, अनशनसहित अन्य वैधानिक कदमहरू अघि बढाउने इतर पक्षको निष्कर्ष छ। ‘महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापतिबाट यसअघि भएका निर्णय सच्याउन असोज १९ गतेसम्मको असल्टमेटसहितको विरोधपत्र आज केन्द्रीय कार्यालयमा दर्ता गराउने सहमति भएको एक केन्द्रिय सदस्यले बताए ।
देउवा विरोधी खेमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना, रिलेअनसनसहितका विरोध कार्यक्रम गर्ने तयारी पनि गरेको छ। महामन्त्री शशांक कोइरालामार्फत पार्टीका सबै निकायलाई पत्र लेखेर सभापतिको निर्णय वैधानिक नभएको भन्दै कार्यान्वयन नगर्न आग्रह गर्ने, महामन्त्रीले समानान्तररुपमा क्रियाशील सदस्यता वितरण गर्ने रणनीति पनि विरोधी खेमाले बनाएको छ।
तर संस्थापनले पक्षले इतर समूहलाई महाधिवेशन सपल पार्नतिर लाग्न आग्रह गर्दै आएको छ। पार्टीको महाधिवेशन गराउने जिम्मेवारी सभापतिको मात्र नभएको संस्थापन पक्षको भनाइ छ। सभापति देउवा निकट सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनको सुनिश्चिता र निष्पक्षतामा सबैको चासो र चिन्ता रहेको बताए।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समेत साथ लिएर सभापति देउवाविरुद्ध विरोधपत्र बुझाउने वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पक्षको प्रयास भने असफल भएको छ। सिटौलाले शनिबारै आफू निकट नेताहरूको छुट्टै बैठक राखेर विरोध र असन्तुष्टि चर्काउँदै जाँदा १४औं महाधिवेशन अनिश्चित हुने भन्दै नेता पौडेलसहितको समूहको पछि नलाग्ने जनाउ दिएका छन्।

प्रतिकृया दिनुहोस्