कोरोनाबिरुद्धको भ्याक्सिन सर्बसाधारणलाई प्रयोग गर्न चीनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को अनुमति

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको जानकारी दिएका छन् ।
डब्ल्युएचओले अहिलेसम्म आपतकालीन प्रयोगका लागि कुनै पनि देशलाई प्रयोगको अनुमति दिएको थिएन । चीनले तेस्रो चरणमा ५ वटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण अन्तरगत आम मानिसमा भ्याक्सिन लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए ।
चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो । चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिसकेको छ ।
डब्ल्युएचओका डायरेक्टर जनरल डा.मरिअनजेला सिमाओले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएको बताएका छन् । चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले भ्याक्सिन बजारमा ल्याउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्