मोरङको कसेनीमा आक्रमण र हत्या घटनामा संलग्न पाँच जनालाई थुनामा राख्न आदेश

मोरङ । भदौ १२ गते मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको दुई पक्षीय (ग्याङफाइट)आक्रमणमा एक जनाको मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दर्ता गरिएकामध्ये ५ जनालाई पूर्पक्षका लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा छाड्न शुक्रबार अदालतले आदेश दिएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पछि ठहरे बमोजिम हुने गरीभन्दै तत्काल प्राप्त प्रमाणका आधारमा पाँच जनालाई पूर्पक्षका लागि थुनामा कारागार चलान गर्न र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।
घटनामा संलग्न मुख्य अभियुक्त बेलबारी–५ का विनयकुमार सरदार, बेलबारी–५ का राजेन भनिने राजेन्द्रथुलुङ राई, ग्रामथान गाउँपालिका– ६ का वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का दीपेन भनिने दीपेन्द्रकुमार चौधरी र बेलबारी–६ का विशालकुमार खवास (गच्छदार) थुनामा राख्न भनेको छ । ग्रामथान–६ का जितेन्द्रकुमार चौधरीलाई ४ लाख र यानव थुलुङ राईलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
घटनामा संलग्न भएका अन्य १२ जना फरार रहेका छन् । घटनाका मुख्य योजनाकार र नाइके विनयकुुमार सरदार र कृष्णकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । खोलामा लगाइएको बाँसको पुल प्रयोग गर्दा एउटा मोटरसाइकलसँग २५ रुपैयाँ उठाउँदै आएको विषयलाई लिएर उत्पन्न विवाद ज्यानै लिने गरी सामूहिक आक्रमणको घटनासम्म पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको जनाएको छ । आक्रमणमा उत्रिएको समूहले बन्चरो, खुकुरीलगायत घरेलु हतियारले प्रहार गर्दा घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्