अर्घाखाँचीको शितगंगामा सिङ्गो बस्ती पहिरोमा भाँसियो, ४० परिवारको चउरमा बास

अर्घाखाँचीको शितगंगामा सिङ्गो बस्ती पहिरोमा भाँसियो, ४० परिवारको चउरमा बास
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा सिङ्गो बस्तीनै भाँसिएपछि गाउँले चौरमा बस्न बाध्य भएका छन् ।

शितगंगा नगरपालिका –१२ को कोठिया मैदानमा जमिन भासिएपछि ४० घरपरिवार पहिरोको जोखिममा परेको छ । अविरल बर्षासंगै जमिन भाँसिनेक्रम सुरु भएको हो । जमिन भाँसिंदा अहिलेसम्म २६ घर भत्किएका छन् भने अन्य १४ घर पहिरोको उच्च जोखिममा रहेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरेले बताए ।

पहिरोले मानवीय क्षती नभएपनि घरगोठ बगाउँदा भैंसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ । अधिकांश लत्ताकपडा, गरगहना, अन्नपात पहिरोमै पुरिएका छन् भने बचेकुचेका सामान स्थानीय बासिन्दा, प्रहरी,नेपाली सेनाले निकालेका छन् ।

पहिरोले सबै सखाप बनाएपछी गाउँलेहरुलाई गाँसबासको समस्या रहेको शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए । पीडित सबै परिवारलाई तत्काल स्थानीयको घर तथा कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । पहिरो बढ्दै जाँदा बस्ती सार्नुको विकल्प नभएको जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए । जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि जिल्ला दैवि प्रकोप उद्धार समितिले बस्ती कहाँ राख्ने भन्ने निर्णय गर्ने उनको भनाई छ । 

          पहिरो पीडित सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहत सामग्री प्रदान गरेको छ । सयौं नागरिक चौरमा बस्न बाध्य रहेकाले टेन्ट, भाँडाकुडा, कम्बल लगायतका सामग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसालले जानकारी दिए ।