खोटाङ कोरोना संक्रमित मुक्त जिल्ला

खोटाङ । सबै संक्रमितले कोरोना जितेपछि खोटाङ कोरोना संक्रमित मुक्त बनेको छ । फरक–फरक समयमा कोभिड–१९ बाट संक्रमित भएका २१ जनाले उपचारपछि डिस्चार्ज पाएसँगै जिल्ला कोरोना संक्रमितमुक्त भएको हो । हालसम्म १ हजार ५७५ जनाको पिसिआर परिक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको तथा उपचारपछि फर्किसकेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसिआर परिक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसिआर परिक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसमध्ये ७ जना नेपाल प्रहरीका जवान रहेको प्रशासनले जनाएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसिआर परिक्षण गर्दा ४ जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १४६ जनाको पिसिआर परिक्षण गर्दा १ जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसिआर परिक्षण गर्दा १ जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परिक्षण गर्दा १ जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परिक्षण गर्दा १ जनालाई पोजिटिभ देखिएको थियो ।
१० स्थानीय तहमध्ये हालसम्म खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमित फेला परेको छैन । हालसम्म जिल्लामा १ हजार ६०८ जनाको आरडिटि परिक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्